हुम्ला। हुम्ला जिल्लाका वनमा गुच्ची च्याउ संकलन कार्य तीव्र बन्दै गएको  छ ।फागुनदेखि वैशाख मसान्तसम्म संकलन हुँदै आएको च्याउ संकलनका लागि अहिले स्थानीयबासीको दैनिक लर्को लाग्ने गरेको छ । स्थानीयहरु च्याउ खोज्न जानका लागि बिहानै घरबाट निस्कने गरेका छन्।

स्थानीयहरु च्याउ खोज्न आफ्नो घरबाट एक दिन लाग्ने दूरीमा रहेको जंगलमा जाने गरेकोले खाना नास्तासहित बस्ने बन्दोबस्त सहित जाने गरेका छन् ।

फागुनदेखि उम्रने गुच्ची च्याउ वर्षासहित आकासमा आउने चट्याङ्ग र गड्याङ गुडुङको आवाजले मात्र उम्रने जनविश्वास छ । त्यसैले हुम्लामा यो च्याउ गर्कि च्याउको नामले पनि परिचित छ । यो च्याउ जिल्लाका ताजाकोट, अदानचुली, सर्केगाड तथा खार्पुनाथ गाउँपालिकाको वनमा अत्याधिक पाइँदै आएको छ ।

गुच्ची च्याउ भीर पाखासहित समथर वनमा पाईन्छ । पहिले वनमा जाने गोठालाले तरकारीको लागि ल्याउने च्याउ हाल व्यापारीले खरीद गर्न थालेपछि यसको संकलन गर्न स्थानीयहरु वनमा जाने गरेको पाइन्छ ।

हाल च्याउ संकलनका लागि महिला, पुरुष र वृद्धदेखि वालवालिकासम्म वनमा जाने क्रम बढिरहेको छ । हरेक वर्ष प्रत्येक घरधुरीले एक देखि दश केजीसम्म च्याउ संकलन गर्ने गरेका छन् । अहिले गुच्ची च्याउ संकलनका लागि विद्यार्थीहरु पनि वनतिर लाग्ने गरेका छन् ।

गुच्ची च्याउ तुरुन्तै नगद आउने राम्रो आम्दानीको श्रोत भएकोले पनि संकलनमा आकर्षण बढेको छ । वनको ल्याएर मनको हुने भएकोले पनि च्याउ संकलनका लागि वनमा जाने गरेको ताजाकोट –४, गल्लावाडका हरिप्रसाद जैसीले बताए । स्थानीय व्यापारीले गाउँगाउँमा नगदसहित खुद्रा सामान पहिले नै दिएर केटाकेटीहरुलाई च्याउ संकलन गर्न प्रोत्साहित गर्ने गरेका छन् ।

यसवर्ष गुच्ची च्याउको मूल्य प्रति केजी १० हजार रुपैयाँ मात्र पर्ने चंखेल्नी गाउँपालिका –४, का स्थानीय व्यापारी रामचन्द्र बुढाले बताए । व्यापारीले गएका वर्षहरुमा प्रति केजी २० देखि ३० हजार रुपैयाँसम्म गाउँमै खरिद गर्ने गरेका थिए ।

यस वर्ष बेलैमा वर्षा भएकोले गुच्ची च्याउ संकलन अत्याधिक मात्रामा हुने अनुमान व्यापारीहरुको छ । यो च्याउ जिल्लाका अदानचुलीको करगाइ, पालस, सर्केघाटको रिप, उनापानी, चंखेल्नीको नेप्का, रिमी, मेखाला तथा सिमीकोटको स्याडा गाउँहरुको वनमा पाइने गरेको छ ।