भैरहवा। प्रदेश नम्बर ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले रूपन्देहीका दुईवटा सरकारीस्तरका फर्मको अवलोकन गर्नुभएको छ । उहाँले रूपन्देहीको भैरहवामा रहेको नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत रहेको राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र र सोही स्थानमा रहेको मत्स्य विकास केन्द्रको अवलोकन गर्नुभएको हो ।
अवलोकन पश्चात मन्त्री पौडेलले किसानको सेवामा सदैव तत्पर रहनको लागि मातहतका कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ । उहाँले गहुँको उत्पादन वृद्धिमा अनुसन्धान केन्द्रले ठूलो सहयोग पु¥याएको भन्दै किसानको चाहना र समस्यालाई बुझेर काम गर्न आग्रह गर्नुभयो ।
मन्त्री पौडेलको स्वागतमा राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवा रूपन्देहीका प्रमुख केशरमणि उपाध्यायले कार्यालयको काम, भइरहेको गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले कृषिमन्त्री पौडेललाई प्याथोलोजी ल्याब, स्वाइल ल्याब, सिड प्रोसेसिङ मेसिन, बीउ भण्डारगृह लगायतका विभागको अवलोकन गराउनुभएको थियो । त्यस्तै मन्त्री पौडेलले गहँु अनुसन्धान परीक्षणसमेत अवलोकन गर्नुभएको थियो ।
त्यसपश्चात मन्त्री पौडेलले भैरहवामा रहेको मत्स्य विकास केन्द्रको निरीक्षण गर्नुभएको थियो । केन्द्रका प्रमुख महेशचन्द्र गुप्ताले कार्यालयले गर्दैआएको विभिन्न कार्यको बारेमा जानकारी गराउनुभएको थियो । मन्त्री पौडेलले माउ माछाको खोर, माछाको अण्डा उत्पादन क्षेत्र, माछाका भुरा उत्पादन क्षेत्रका साथै विभिन्न माछा पोखरीको समेत अवलकोन गर्नुभएको थियो ।
अवलकोन पश्चात बोल्दै मन्त्री पौडेलले देश अहिले समृद्धिको सङ्घारमा रहेको भन्दै आ–आफ्नो क्षेत्रबाट किसानलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने विषयमा मन्त्रालयको सदैव सहयोग गर्ने भन्दै सोही अनुसार कार्य गर्नका लागि मातहतका कर्मचारीलाई निर्देशन समेत दिनुभएको थियो ।