
कालिकोट। जिल्ला पशु सेवा कार्यालय कालीकोटमा ९० लाख रुपैयाँ अनियमितता भएको सार्वजनिक भएको छ । कृषि तथा खाद्य सुरक्षा आयोजना, साना अनुदान परियोजनामा ०७४-७५ को रकममा अनियमिता भएको हो । आयोजनाले वास्तविक किसानलाई नदिएर नक्कली किसानलाई रकम वितरण गर्दै अनियमितता गरेको खुलासा भएको हो ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख र लेखापाल मिलेर नक्कली किसान खडा गरी रकम अनियमितता भएको हो । आयोजनाको रकम अनियमितता गर्नेमा निर्वाचित वडाअध्यक्ष, व्यापारी र राजनीतिकर्मीको समेत संलग्नता रहेको पाइएको छ ।
तीन लाख रुपैयाँसम्म अनुदान पाउने साना किसानको जिल्ला पशु सेवा कार्यालयका कर्मचारी १५ हजार कन्टल्टेन्सी भनेर लगेको, २ लाख ७५ हजारसम्म अनुदान पाउनेबाट १३ हजार ७ सय ७५ हजार रुपैयाँ कृषि कार्यालयका कर्मचारीले काटेको एक सहकारीका अध्यक्षले बताए । “किसानलाई व्यवसायीकरण गर्न अनुदान दिएको पैसामा कन्टल्टेन्सी नकाट्नु पर्ने हो,” उनले भने, “कति त नक्कली किसानलाई समेत अनुदान दिइएको छ ।”
जिल्लाका ३३ वटा समूह सहकारीलाई अनुदान दिइएको रकममा ३२ वटा समूहबाट १३ हजार ७ सय ७५ हजारसम्म गरी ४ लाख ४० हजार र १ समूहबाट १५ हजार रुपैयाँ समूहबाट पशु सेवा कार्यालयबाट उठाएको पाइएको छ । अनुदान लिनेले रकम लगेको भए पनि व्यवसाय सञ्चालन गरेका छैनन् ।
वास्तविक किसानलाई दिनुपर्ने अनुदान रकम कुखुरापालन समूहलाई डेरी सञ्चालन गर्नसमेत दिइएको छ । आफूले व्यवसाय सञ्चालन गर्न अनुदान लगेको भए पनि सञ्चालन गर्न नसकेको नरहरीनाथ गाउँपालिका–८ का अनिलकुमार बिष्टले बताए ।
आयोजनाको रकम अनियमिताका विषयमा पशु सेवा कार्यालय कालिकोटका प्रमुख बज्रकिशोर ठाकुरसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच अफ गरिएको छ भने कार्यालयका निमित्त प्रमुख पूर्ण गिरीले फोन नै उठाएनन् । जिल्ला पशु सेवा कार्यालय चैत २८ गते खारेज हुने कार्यालय हो ।