काठमाडौं। नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिश्पर्धामा अब्बल स्थापित भएको हो ।

दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै सन् २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० स्कोर (अंक) पाएको हो । अमेरिकामा रहेको कफी अन्सल्टिङ कम्पनीले विभिन्न मापदण्ड बनाएर कफी परीक्षण गरेको थियो ।

नेपाली कफी विगत पाँच वर्षअघि परीक्षणमा पठाइँदै आएको छ । प्रतिश्पर्धामा ९० अंक पाएको यो पहिलो पटक हो । गुणस्तर मापन गर्दा लेकाली बगानमा फलेको कफीले ९० अंक पाएर उच्च गुणस्तरको कफीका रुपमा स्थापित भएको चिया तथा कफी विकास वोर्डले जनाएको छ ।

फ्लेवर, टेस्ट, एसिडिटी, स्विटनेसलगायतका विभिन्न मापदण्डमा कुल एक सय स्कोरलाई आधार बनाएर कफी परीक्षण गरिन्छ । ८० अंकभन्दा बढी प्राप्त गर्ने कफीलाई विश्व बजारमा उत्कृष्ट मानिन्छ । यसलाई आधार बनाएर विश्वभरका कफी बायर (क्रेता) ले सम्बन्धित मुलुकमा पुगेर कफी खरिद गर्ने गरेका छन् । अमेरिकामा रहेको कफी रिभ्यु डटकमले उक्त रिपोर्ट सार्वजनिक गर्ने गरेको छ।

धेरै मेहनतपछि आफ्नो बगानको कफी अब्बल बनेको लेकाली कफी स्टेटका सञ्चालक निमा तेन्जिङ शेर्पाले बताए । ‘धेरै वर्षदेखिको कफी प्रशोधनका विभिन्न चरण पूरा गरेर यो अवस्थामा आएका हौं,’ शेर्पाले भने, ‘कफी टिप्दादेखि भण्डारण प्रक्रियामा सानो गल्ती गरे पनि गुणस्तर कमजोर हुन्छ।’

कफी टिपेदेखि, ग्रेडिङ, पल्पिङ, गुम्स्याउने, धुने, सुकाउनेलगायतका प्रक्रियामा मापदण्ड पूरा गर्नुपर्ने उनले बताए । ‘पाँच वर्षदेखिको प्रयासले सफलता प्राप्त गरेका छौं,’ शेर्पाले भने, ‘हामी नेपाली किसानका लागि गौरवको विषय हो ।’ सबै प्रक्रिया पुर्‍याएर कफीखेती गरे नेपाली कफीका लागि आगामी दिन सुखद रहेको शेर्पाले बताए ।