ललितपुर। नेपाली स्याउको बजारीकरण र प्रवर्द्धनका लागि काठमाडौंमा नेपाल एप्पल फेस्ट २०२६ आयोजना हुने भएको छ।उत्पला क्याफेको सहकार्यमा मेरो किसान र कृषि प्रेसको सहयोगमा आयोजना गर्न लागिएको मेला असोज २३ गतेदेखि ३ दिनसम्म (अक्टोबर ९, १० र ११) बौद्धस्थित उत्पला क्याफेमा चल्ने क्याफेका म्यानेजर दिपक बोहोराले बताउनुभयो।

कृषि प्रेसका संचालक अशोक टण्डनका अनुसार नेपालमा स्याउ खेतीलाई प्रोत्साहन गर्न यो महोत्सव आयोजना गरिएको हो। महोत्सवमा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोट सहित विभिन्न जिल्लामा उत्पादन भएका १५ प्रकारका नेपाली स्याउ राखिने मेरो किसानका सीईओ अविनाश सिलवालले बताउनुभयो।

उहाँका अनुसार विभिन्न कारणले नेपाली स्याउले बजारीकरणको अभाव झेल्नुपरेको छ र हाल ९० प्रतिशत स्याउ चीन र भारतबाट आयात हुने गरेको छ। स्थानीय किसानसँग सिधै स्याउ खरिद गरेर उपभोक्ता, आपूर्तिकर्ता र उद्योग विशेषज्ञसँग सिधा सम्पर्क गराउने उद्देश्यले मेलाको आयोजना गरिएको हो।

मेलामा स्याउ प्रदर्शनीसँगै १५ भन्दा बढी स्याउबाट बनेका परिकार पनि पाइनेछ। ड्रिंक्समा फ्रेस एप्पल जुस, एप्पल मिन्ट रिफ्रेसर, एप्पल स्मुदी, फुडमा एप्पल बिरयानी, एप्पल मोमो, एप्पल सुशी, प्यानकेक, सलाद र बेकरीमा एप्पल ब्रेड, पेस्ट्री लगायतका परिकार रहनेछन्। महोत्सवमा विभिन्न गेम पनि खेलाइने र जित्नेले स्याउ नै पुरस्कार पाउने आयोजकले जनाएको छ।