ताप्लेजुङ। चालु सिजनको शुरूआतमा प्रतिमन ९६ हजारसम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घटेको छ । एक साताअघि ८८ हजारका दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर ८४ हजारमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् ।
नयाँ उत्पादन आउन थालेसँगै मूल्य घट्न थालेको हो । सिजनको शुरूआती समयमा अलैँचीको मूल्य ९६ हजारमा कारोबार भएको थियो ।
अलैँची व्यवसायीका अनुसार अहिले ओसिलो क्षेत्रका बगानबाट उत्पादित अलैँची बजारमा आइरहेको छ । उच्च क्षेत्रमा भने अलैँची पाक्न अझै केही समय लाग्ने व्यवसायी बताउँछन्। ओसिलो क्षेत्रको अलैँचीले शुरूआती समयमा राम्रो मूल्य पायो । त्यसपछि मूल्यमा उतारचढाव हुँदै अहिले सदरमुकाम फुङलिङमा प्रतिमन ८४ हजारमा कारोबार भइरहेको छ।
ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ । यहाँको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यमा हुने परिवर्तनले किसानको आम्दानीमा प्रभाव पार्ने गरेको छ ।
नयाँ उत्पादन बजारमा आउने क्रम बढेसँगै अलैँचीको मूल्यमा थप उतारचढाव हुनसक्ने व्यवसायीको अनुमान छ ।









