मुस्ताङ। हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी-जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो ।
सडक अवरुद्ध भएपछि यहाँ उत्पादित स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ । उक्त सडक सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ।
यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्धका कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या परेको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले बताए।
अहिलेसम्म ७० प्रतिशत बजारमा पठाइसक्नुपर्नेमा ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको उनले बताए। यहाँ उत्पादित स्याउमध्ये १० प्रतिशत मुस्ताङमै खपत हुने गरेको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार यस वर्ष १० हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ। गत वर्ष सात हजार मेट्रिक टन उत्पादन भएको थियो । उत्पादन वृद्धि भएकाले यस वर्ष झन्डै रु. दुई अर्बको स्याउ बिक्री हुने उनको अनुमान छ।
भारी वर्षाले अवरुद्ध बेनी-जोमसोम सडक मर्मतपछि सडक सञ्चालन भए पनि उक्त सडक पूर्ण रुपमा सहज भने अझै भइसकेको छैन । तर, यहाँका किसानले बजारमा स्याउको बिक्री गर्ने याम घर्किन लागेको हुँदा अहिले धमाधम स्याउ टिपेर बजार पठाउन थालेका छन्।
जिल्लास्तरीय बोर्ड निर्णयअनुसार छिटो पाक्ने स्याउ भदौ १५ गते र ढिलो पाक्ने स्याउ भदौ २२ गते बगैँचाबाट टिप्न सक्ने व्यवस्था गरिएको थियो।









