भक्तपुर। फलफूल तथा तरकारीको स्वच्छता, सन्तुलित आहार र स्वस्थ जीवनशैलीबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय कृषि कम्पनी नेपाल लि. आयोजना गरेको ‘ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्व’ विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य प्रमुख अतिथि तथा समाजसेवी एवं व्यवसायी सुरबहादुर श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी भएका थिए । कम्पनीका अध्यक्ष विशाल हुमागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वास्थ्य क्षेत्रका ४ जना विशेषज्ञले जनस्वास्थ्य, खाद्य स्वच्छता र स्वस्थ जीवनशैलीका विभिन्न पक्षबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा छाला रोग विशेषज्ञ डा. मोहन भुसाल, मेडिकल अंकोलोजिस्ट तथा सहायक प्राध्यापक डा. समिम अख्तर, कन्सल्टेन्ट फिजिसियन तथा क्लिनिकल कार्डियोलोजिस्ट डा. रोशन कुमार झा र नर्सिङ इन्चार्ज आर.एन. रेणुका क्षेत्रीले आ-आफ्नो विशेषज्ञताका आधारमा स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गरेको थिए ।

विशेषज्ञहरूले फलफूल तथा तरकारीको स्वच्छता कायम गर्ने उपाय, छालाको स्वास्थ्य, क्यान्सरको जोखिम न्यूनीकरण, मुटुको स्वास्थ्य र सन्तुलित आहारको महत्त्वबारे प्रकाश पारेका थिए । साथै, फलफूल तथा तरकारीलाई उचित तरिकाले सफा गर्ने, स्वच्छ खाद्य उपभोगका अभ्यास अपनाउने र स्वस्थ जीवनशैलीलाई दैनिक व्यवहारमा उतार्ने विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो । यस्तै, कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्यले युवा पुस्तामा कृषि क्षेत्रप्रति आकर्षण बढ्दै गएको देख्दा खुसी लागेको बताए ।

कृषि पेशामा युवाहरूको सक्रिय सहभागिताले यस क्षेत्रको विकास, आधुनिकीकरण र प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने आचार्यको विश्वास रहेको छ । आचार्यले जनचेतनामूलक कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडसँग सहकार्य गर्न र कम्पनीका भावी कार्यक्रममा सहभागी हुन इच्छुक रहेको बताए ।

स्वास्थ्य विशेषज्ञसँग प्रत्यक्ष रूपमा अन्तरक्रिया तथा जानकारी आदानप्रदान गर्ने अवसरले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकको विश्वास छ ।