
काभ्रे। मण्डनदेउपुर नगरपालिका कृषकको भरपर्दो आम्दानीको स्रोत कफीखेती बन्दै गएको छ । एकपटक रोपेपछि पटक–पटक रोपी रहनु नपर्ने, नियमित सिँचाइ र मलको आवश्यकता नपर्ने जस्ता कारणले गर्दा कफीखेती गर्न किसानलाई सजिलो भएको छ ।
नगदे बाली कफी अहिले जिल्लाका सुख्खा डाँडामा लटरम्म हुने गरी फलेको देखिन्छ । वर्षमा २ पटक आम्दानी लिन सकिने कफीखेती गरिएको जग्गामा घुसुवा बालीका रूपमा अदुवा, हलेदो तथा तरकारीहरू पनि रोप्न सकिन्छ । जसले गर्दा एउटै जग्गाबाट दोहोरो उत्पादन गर्नसकिने भएकाले धेरै कृषकहरू यसतर्फ लाग्न थालेको मण्डनदेउपुर नगरपालिका वडा नं.६ का शङ्कर डोटेल बताउनुभयो ।
‘करिब २ दशक अघि पाखो बारीमा कफीखेती सुरु गरेको थिएँ । अहिले वार्षिक एकदेखि डेढ लाख रुपियाँसम्म कफीखेतीबाटै आम्दानी गर्न थालेको छु’ डोटेलले भन्नुभयो । देउपुरमा उहाँजस्तै करिब पाँच सयभन्दा बढी कफीखेती गर्ने कृषक छन् । न्यूनतम दस हजारदेखि बढीमा डेढ लाख रुपियाँसम्म वार्षिक आम्दानी कफीखेतीबाटै लिने कृषकको सङ्ख्या यहाँ छ ।
देउपुरमा मात्र होइन यस नगरपालिकाको महादेवस्थान, चण्डेनी मण्डन, जैसी थोक, ज्याम्दीका साथै पाँचखाल, अनेकोट, च्याम्राङ बेँसी, मिल्चे, साल्धारालगायतका गाउँका करिब दस हजारभन्दा बढी कृषक अहिले प्रत्यक्षरूपमा कफीखेतीमा लागेका छन् । यस खेतीबाट अहिले सोचेभन्दा राम्रो आम्दानी हुन थालेको सम्बन्धित कृषकहरूले बताए ।
सुरुमा त कफीको पनि खेती गरिन्छ र जस्तो लागेको थियो । देउपुरका कृषकहरू भन्छन्– “अब त कफीखेती नै हाम्रो आम्दानीको मुख्य स्रोत बनेको छ । यहाँ उत्पादित कफी जिल्लाका अतिरिक्त राजधानीलगायत देशका विभिन्न सहरका साथै विदेशसमेत निर्यात हुने गरेको छ । किसानहरूले उत्पादित कफी मात्र नभएर यसका बिरुवा पनि तयार गरेर बेच्ने गरेका छन् । यसबाट पनि राम्रै आम्दानी हुने गरेको चण्डेनीमण्डनकी कृषक विजया नेपालले बताउनुभयो ।
पछिल्ला दिनमा परम्परागत खेतीबाट टाढिँदै गएका जिल्लाका अधिकांश कृषक अहिले पशुपालन, तरकारीखेती तथा कफी, अम्रिसोलगायतका नगदेबालीतर्फ आकर्षित हुन थालेको नेपालले जानकारी दिनुभयो ।