बाँके।  बाँकेको कोहलपुर क्षेत्रमा संचालनमा रहेको भेरी शीत भण्डार सहकारी संस्था लिमीटेडमा आबद्ध कृषकलाई कृषि उपज भण्डारण गरेको रसिद धितोमा राखी कृषि भण्डारण कर्जा प्रदान गर्न थालिएको छ ।

प्रभु बैंक लिमिटेडको कोहलपुर शाखा, भेरी शीत भण्डार सहकारी संस्था लिमीटेड र यु.के.एड सक्षमको सहकार्यमा कृषि भण्डारण कर्जा प्रवाहको एक समारोहका बीच  उद्घाटन गरिएको छ ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका नगरप्रमुख लुटबहादुर रावतले कृषि भण्डारण कर्जा यस क्षेत्रकै नविनतम् सेवा भएको र यसले यस क्षेत्रका कृषकहरुलाई साहुमहाजनको चर्को ब्याजबाट सुरक्षा प्रदान गरी आर्थिक आवश्यकता परिपूर्ति गर्ने विश्वास व्यक्त गरे ।

बाँके तथा बर्दिया क्षेत्र खासगरी कृषिमा आधारित ग्रामीण क्षेत्र भएको र यस क्षेत्र आलु जस्ता तरकारीको पकेट क्षेत्र मानिएको हुँदा यस क्षेत्रमा संचालनमा रहेको भेरी शीत भण्डार सहकारी संस्थामा आबद्ध कृषकलाई मध्यनजर राख्दै कृषि उपज भण्डारण गरेको रसिद धितोमा राखी प्रदान गरिने कृषि भण्डारण कर्जा (वेयरहाउस रिसिप्ट लोन) सुरुवात गरिएको प्रभु बैंकको कोहलपुर शाखाका प्रबन्धक विकेशकुमार श्रेष्ठले जानकारी दिए ।