
एजेन्सी। दक्षिण सुडानमा अनिकाल घोषणा गरिएको छ । पछिल्लो ६ वर्षमा कुनै देश अनिकालग्रस्त घोषणा गरिएको यो पहिलो पटक हो ।
सुडान सरकार र संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार करिब १ लाख मानिस अहिले भोकमरीको चपेटामा छन् र लाखौं अन्य नागरिकहरु यसको नजिक छन् ।
वर्षौसम्म चलेको गृहयुद्ध र अर्थतन्त्रमा आएको गिरावटलाई यसको कारक मानिएको छ । सुडान बाहेक यमन, सोमालिया र नाइजेरियामा पनि अनिकालको संकेतहरु देखिएको छ ।
अहिले सुडानको केही क्षेत्रमा मात्रै भोकमरी देखिए पनि तत्काल राहत पुर्याउन नसकिए यो अरु क्षेत्रमा पनि फैलने अन्तर्राष्ट्रिय संस्थाहरुले उल्लेख गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय खाद्यान्न कार्यक्रम र यूनिसेफजस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले करिब ५० लाख मानिसलाई तत्काल खाद्यान्न पुर्याउन आवश्यक भएको जनाएका छन् । यो संख्या दक्षिण सुडानको कूल जनसंख्याको ४० प्रतिशत हो ।
कुन बेला अनिकाल घोषणा हुन्छ ?
संयुक्त राष्ट्रसंघको अनुसार खाद्यान्न अभावलाई मात्रै अनिकालको कारक मानिन्न । जन निश्चित मृत्युदर, कुपोषण र भोकको दायरा नाघ्छ तब मात्रै अनिकाल घोषणा हुन्छ । कुनै क्षेत्रको कम्तिमा २० प्रतिशत घरधुरीले खाद्यान्नको अत्यन्त अभाव भोगेमा, कुपोषणको दर ३० प्रतिशत नाघेमा र प्रति १० हजारमा प्रतिदिन २ जनाभन्दा बढीको मृत्यु भएको अनिकाल घोषणा गर्ने गरिन्छ ।
सुडानमा कार्यरत संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमले सोमबार प्रकाशित गरेको रिपोर्टमा अनिकाललाई अन्यत्र फैलन नदिन तत्काल राहत पुर्याउनुपर्ने बताइएको छ ।
कान्तिपुर बाट