ललितपुर। माओबादी नेत्रीहरु क्रमश : दोलखा घर भएकी भगवती प्रधान र सोलुखुम्बुकी टीका बाँस्तोलाले सात लाख रुपैयाँ लगानीमा धापाखेलमा एक वर्षदेखि गोलभेँडा खेती गरेका छन् । गत चैतमा रोपेको गोलभेँडाले अहिले धमाधम उत्पादन दिन थालेको छ । उनीहरूको सोच कृषि कर्मबाट आर्थिक क्रान्ति गर्नु हो । प्रधान र बाँस्तोला अन्य पेसाभन्दा कृषि सहज भएकाले आफ्नो रोजाइमा परेको बताउँछन् । उनीहरूले दुईजनालाई रोजगार पनि दिएका छन् ।
बाँस र प्लास्टिकबाट बनाइएका ९ वटा टनेलमा उनीहरूले सिर्जना, थेम्स, कवितालगायत जातका गोलभेँडा खेती गरेका छन् । सुरुमा सानो लगानी गरेर बढाउँदै लैजाने सोच बनाएको बाँस्तोलाले बताइन् । चैैतमा लगाएका गोलभेँडाका बोटले दुई लाख रुपैयाँभन्दा बढी आम्दानी दिइसकेको जानकारी प्रधानले दिइन् । उनले युवा स्वरोजगार कोष र जिल्ला कृषि विकास कार्यालयबाट सात लाख रुपैयाँ अुनदान लिएर खेती सुरु गरेको बताइन । उनले भनिन्, ‘चैतमा सुरु गरेको टमाटर खेतीबाट अहिले दिनको २ देखि ३ क्रेटसम्म उत्पादन हुन्छ, बजार भाउ पनि राम्रै छ, मेहनेत गर्ने हो भने राम्रो प्रतिफल लिन सकिँदो रहेछ ।’
कृषि कर्मबाट आर्थिक क्रान्ति गर्ने सोच राखेका यी दुई महिलाको पारिवारिक पृष्ठभूमि र जीवन कहानी पनि मिल्दो छ । दुवै माओवादी जनयुद्दमा होमिएका थिए । १५ वर्षको कलिलो उमेरमै उनीहरू २०५६ सालमा माओवादी जनयुद्दमा होमिएका थिए । देश विकास र परिवर्तनको सोच राखेर माओवादी राजनीतिमा लागेका उनीहरू राजनीति उभो लाग्न नसकेर कृषिमा हात हालेको सुनाउँछन् ।
माओवादी ‘सशस्त्र युद्ध’ का क्रममै विवाह गरेका दुवैले सोही युद्धमा श्रीमान गुमाउनुप¥यो । जीवनसाथी नै गुमाएपछि राजनीतिप्रतिको मोह र मनोबल पनि घट्दै गएको बाँस्तोलाले बताइन् । श्रीमान गुमाएका दुवै महिलाको मित्रता भने लोभलाग्दो छ । १५ वर्षे उमेरमै माओवादी राजनीतिले भेट गराएका दुवैले त्यतिबेलादेखि अहिलेसम्म एकअर्कालाई सहयोग गर्दै आइरहेका छन् । सक्रिय राजनीति नगरे पनि राजनीति र देशप्रतिको आस्था कहिल्यै नमर्ने बताउँछिन् प्रधान ।जीवनको महŒवपूर्ण समय राजनीतिमा खर्चेका उनीहरूलाई किन गोलभेँडा खेतीमा लागेको त भन्ने प्रश्नमा जबाफ थियो, ‘पहिलादेखि नै आफूहरूको अभिरुचि र सोच कृषिकर्म गर्ने थियो ।’ बाँस्तोलाले थपिन्, ‘अरु पेसाभन्दा कृषिमै आनन्द छ, फेरि लगानी गरेपछि ढुक्क हुने पेसा पनि यही हो ।’ बाँस्तोलाले भनिन्, ‘कृषिलाई अग्रस्थानमा राखेर राजनीति गर्ने सोच छ ।’