धनकुटा । धनकुटाका एक व्यक्तिले रू. २३ लाख को लगानीमा बगरमा माछा पालन शुरु गरेका छन् ।
धनकुटा बुढिमोरङ गाविस ५ का ६४ वर्षिया देव ईवाहाङ लिम्बुले भेडेटार गाविसको फलामेटारको लेउती खोलामा रहेको आफ्नो ३५ रोपनी बगर जमिनमा तटबन्धन निमार्ण गरेर माछापालन शुरु गरेका हुन् ।

वि.सं. २०४१ को बाढीले कटान गरेको जमिनमा अनेकौं प्रयास गर्दा पनि कटान नरोकिएपछि लिम्बुले २०७२ सालमा आफ्नै अनुभवमा गरेको ‘करुवा’ तटबन्धन सफल भएको थियो । खोला किनारका ठूला–ठूला ढुङ्गामा ड्रिलले प्वाल बनाएर फलामे रडले सबै ढुङ्गाहरुलाई लामवद्ध रुपमा बाँधेर(जोडेर) बनाएको तटबन्धन सफल भएपछि गत जेठबाट माछा पालन शुरु गरेको लिम्बु बताउँछन् ।

‘अनेकौं तारजाली लगाएँ तर सबै बगायो’, उनले भने, ‘अहिले जति नै ठूलो भेल आउँदा केहि नभएपछि जोखिम मोलेर व्यवसाय शुरु गरेको हँु ।’
हाल १० रोपनी क्षेत्रफलमा ४ वटा ठूला पोखरी निर्माण गरी १८ हजार बिभिन्न जातका माछा लगाएर व्यबसाय शुरु गरेको लिम्बुले आगामी ५ बर्ष भित्रमा सबै जमिनमा माछापालन पुरा गर्ने लक्ष रहेको जानकारी दिए ।

व्यक्तिगत रू. १० लाख र माछापुछ्रे बैङ्क धनकुटा शाखाको रू. १३ लाख लगानी रहेको उक्त माछा फर्म निर्माण पूरा भएपछि माछाको परिकार खुवाउने होटल सञ्चालन गर्ने योजना समेत रहेको लिम्बु बताउँछन् ।

धरान–धनकुटाको कोशी राजमार्गसँगै रहेको उक्त माछा फर्म धनकुटाकै ठूलो माछा फर्म र पर्यटक आकर्षक गर्ने गन्तव्य हुने अपेक्षा राखेको लिम्बुले बताए । हाल धनकुटामा ४ हेक्टर क्षेत्रफलमा ४ दशमलव ९६ मेट्रिकटन माछा उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क छ ।