कुनै समय नेपालको पहाडी गाउँको बिहान ढिकीको लयसँगै सुरु हुन्थ्यो।घर–आँगनमा कोदो कुट्ने त्यो आवाज केवल अन्न प्रशोधनको संकेत थिएनस त्यो हाम्रो कृषि संस्कृति, आत्मनिर्भरता र स्थानीय ज्ञानको जीवन्त प्रतीक थियो। आज ती ढिकीहरू विस्तारै मौन बन्दै गएका छन्। गाउँमा श्रमशक्ति घटेको छ, युवाहरू वैदेशिक रोजगारीमा छन्, खेती गर्ने हात कम भएका छन्। तर, एउटा कुरा भने परिवर्तन भएको छैन—कोदोको महत्व। बरु जलवायु परिवर्तन, पोषण सुरक्षा र स्वस्थ आहारप्रतिको बढ्दो चासोसँगै कोदो फेरि भविष्यको खाद्य प्रणालीको केन्द्रमा आउन थालेको छ।

यस वर्षको दोस्रो राष्ट्रिय कोदो दिवसको नारा “कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्धन” ले पनि यही आवश्यकता औंल्याउँछ। कोदोको संरक्षण केवल परम्परा जोगाउने प्रयास होइनस यसलाई आधुनिक प्रविधि, प्रशोधन र बजारसँग जोडेर किसानको आय, उपभोक्ताको पोषण र देशको खाद्य सुरक्षालाई एकसाथ सुदृढ बनाउने अवसर पनि हो। त्यसैले आजको बहस कोदो उत्पादन बढाउने मात्र होइन, यसलाई प्रविधिसँग जोडेर मूल्यवान् कृषि उपज बनाउनेतर्फ केन्द्रित हुनुपर्छ।

१. किन फेरि चर्चामा छ कोदो ?
नेपालका पहाडी तथा हिमाली क्षेत्रमा सदियौँदेखि खेती हुँदै आएको कोदो कम पानीमा उत्पादन हुने, प्रतिकूल मौसमसँग तुलनात्मक रूपमा अनुकूल हुने र पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण बाली हो। यसमा क्याल्सियम, आइरन र आहारजन्य रेशा प्रशस्त पाइन्छ। विश्वभर ग्लुटेनमुक्त खाद्य पदार्थको माग बढिरहेका बेला कोदोबाट बनेका पिठो, बिस्कुट, कुकीज, नुडल्स र अन्य प्रशोधित उत्पादनको बजार पनि विस्तार हुँदै गएको छ। तर यति धेरै सम्भावना हुँदाहुँदै पनि किसानले यसको अपेक्षित आर्थिक लाभ लिन सकेका छैनन्। यसको एउटा प्रमुख कारण उत्पादनपछिको व्यवस्थापन हो।

२. खेतपछि सुरु हुन्छ वास्तविक चुनौती :
आज पनि धेरै पहाडी गाउँमा कोदो काटिसकेपछि चुट्ने, दाना छुट्याउने, सफा गर्ने, बोक्रा हटाउने र पिस्ने काम अधिकांश रूपमा हातैले गर्नुपर्छ। परम्परागत रूपमा कोदो प्रशोधनसँग जोडिएको ठूलो हिस्सा महिलाको श्रममा निर्भर छ। धेरै गाउँमा एउटा परिवारले कोदो चुट्न दुई–तीन दिनसम्म श्रम गर्नुपर्ने अवस्था अझै छ। यसले किसानको समय मात्र होइन, कोदो खेतीलाई व्यावसायिक बनाउने सम्भावनालाई पनि सीमित गरेको छ।

यदि यही काम केही घण्टामै सम्पन्न गर्न सकियो भने किसानले बचत भएको समय अन्य कृषि कार्य, पशुपालन, सीप विकास र उद्यमशीलता, वा आयआर्जनका गतिविधिमा प्रयोग गर्न सक्छन्। कृषि यान्त्रिकरणको वास्तविक अर्थ यही हो—मेसिनले मानिसलाई विस्थापित गर्नु होइन, कठिन श्रमलाई सहज बनाउनु।

नेपालमा धान, गहुँ र मकैमा यान्त्रिकरण विस्तार हुँदै गए पनि कोदो, चिनो र कागुनोजस्ता रैथाने बालीका लागि उपयुक्त प्रविधिको विकास र प्रयोग अझै सीमित छ। साना दानावाला बालीको प्रशोधन कठिन भएकाले किसान प्रायः कच्चा उत्पादन बेच्न बाध्य हुन्छन्। यसले उनीहरूको आम्दानी बढ्ने सम्भावना पनि सीमित बनाएको छ। त्यसैले प्रविधिको आवश्यकता उत्पादन बढाउन मात्र होइन, श्रम घटाउन, गुणस्तर सुधार गर्न र उत्पादनलाई बजारयोग्य बनाउन पनि हो। यही आवश्यकताले पोस्ट–हार्भेस्ट इन्जिनियरिङ र कृषि यान्त्रीकरणको महत्व बढाएको छ।

३.किसानका समस्याबाट जन्मिएका प्रविधि :
नेपालमा कोदो तथा अन्य रैथाने बालीको उत्पादनपछिको व्यवस्थापन सहज बनाउन विभिन्न प्रविधि विकास भइरहेका छन्। कोदो चुट्ने तथा दाना छुट्याउने पेडल चालित थ्रेसर, चिनो तथा कागुनो कुट्नेरप्रशोधन उपकरण, अन्न सफा गर्ने मेसिन र बहुउपयोगी कम्बाइन मिल जस्ता प्रविधि यस दिशामा महत्वपूर्ण प्रयास हुन्। यी प्रविधिहरूको परीक्षणले परम्परागत श्रमको तुलनामा समय र मेहनत घटाउने सम्भावना देखाएको छ।

विशेषगरी पेडल कोदो थ्रेसर ग्रामीण क्षेत्रलाई लक्षित गरेर विकास गरिएको प्रविधि हो। विद्युत् नभएको ठाउँमा पनि सञ्चालन गर्न सकिने र आवश्यक परे सानो मोटर जडान गर्न मिल्ने भएकाले यो पहाडी गाउँका लागि उपयोगी विकल्प बन्न सक्छ। यसले परम्परागत ढङ्गले दिनौँ लाग्ने कामलाई केही घण्टामा सम्पन्न गर्न मद्दत पुर्‍याउन सक्छ।

यसैगरी चिनो र कागुनोका लागि विकास तथा पहिचान गरिएका प्रशोधन उपकरणले स्थानीय स्तरमै मूल्य अभिवृद्धिको सम्भावना बढाएका छन्। अन्न सफा गर्ने मेसिनले उत्पादनको गुणस्तर सुधार गर्छ भने बहुउपयोगी कम्बाइन मिलले कुट्ने, पिस्ने र अन्य प्रशोधन कार्य एउटै प्रणालीबाट गर्न सक्ने भएकाले साना उद्यमका लागि उपयोगी हुन सक्छ।

यस्ता प्रविधिले किसानको श्रम र समय बचत गर्नुका साथै स्थानीय स्तरमै प्रशोधन, मूल्य अभिवृद्धि र ग्रामीण उद्यम विकासको सम्भावना बढाउन सक्छन्। यसको महत्व केवल मेसिनको प्रयोगमा सीमित छैनस यसले उत्पादनको गुणस्तर सुधार, किसानको श्रमको सम्मान, प्रशोधन लागत घटाउने र रैथाने बालीलाई बजारसँग जोड्ने आधार तयार गर्छ। यसरी कृषि यान्त्रिकरणले उत्पादन वृद्धि मात्र होइन, किसानको आय सुधार र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्छ।

तालिका : उत्पादनोपरांत प्रविधिहरुको एक झलक (श्रोत: Shrestha & Khatri, 2023)

पेडल कोदो थ्रेसर                                                     इलेक्ट्रिक कोदो थ्रेसर

कम्बाइन मिल

अन्न सफा गर्ने मेसिन

४. अबको आवश्यकतास् पोषण सुरक्षादेखि प्रविधि रूपान्तरणसम्म :
कोदोको महत्व कृषिमा मात्र सीमित छैन। नेपालमा अझै पनि सूक्ष्म पोषकतत्त्वको कमी सार्वजनिक स्वास्थ्यको चुनौती बनेको छ। क्याल्सियम, आइरन र आहारजन्य रेशा प्रशस्त हुने कोदोको नियमित उपभोगले पोषणयुक्त आहार प्रवर्द्धनमा योगदान पुर्‍याउन सक्छ। त्यसैले कोदोको संरक्षण र प्रवर्द्धन कृषि उत्पादनको विषय मात्र होइनस खाद्य तथा पोषण सुरक्षासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय प्राथमिकता पनि हो।

यद्यपि कृषि यान्त्रीकरणको सफलता उपकरण विकासमै सीमित रहँदैन। किसानसम्म प्रविधि पुग्नु, सञ्चालन तालिम उपलब्ध हुनु, मर्मत सेवा सहज हुनु, वित्तीय पहुँच सुनिश्चित हुनु र उत्पादनलाई बजारसँग जोड्ने प्रणाली विकास हुनु पनि उत्तिकै आवश्यक छ। अनुसन्धान केन्द्रमा विकसित प्रविधि प्रयोगशालामै सीमित रहे त्यसको उद्देश्य पूरा हुँदैनस ती किसानको खेत र गाउँसम्म पुग्नुपर्छ।

यसका लागि संघ, प्रदेश र स्थानीय सरकार, अनुसन्धान संस्था, विश्वविद्यालय, निजी क्षेत्र, सहकारी र किसानबीच प्रभावकारी सहकार्य आवश्यक छ। पहाडी भूगोलअनुकूल साना कृषि उपकरणको विस्तार, साझा मेसिन सेवा केन्द्र, स्थानीय प्रशोधन उद्योग, प्राविधिक सेवा र युवा तथा महिला लक्षित कृषि उद्यमशीलता कार्यक्रमलाई एउटै मूल्य शृङ्खलामा जोड्न सके मात्र यान्त्रीकरणले अपेक्षित परिणाम दिन सक्छ।

साथसाथै बीउ छर्ने, गोडमेल गर्ने, कटानी गर्ने, चुट्ने र प्रशोधनसम्मका चरणमा उपयुक्त यान्त्रीकरण विस्तार गर्न सकेमा कोदो खेती थप व्यावसायिक र प्रतिस्पर्धी बन्न सक्छ। प्रविधि, सीप, सेवा र बजारलाई एउटै प्रणालीमा जोड्न सके मात्र कोदोको वास्तविक सम्भावना उपयोग गर्न सकिन्छ।

संरक्षणसँगै आधुनिकीकरणको बाटो :
परम्परागत ढिकी हाम्रो कृषि सभ्यताको अमूल्य सम्पदा हो। तर परम्पराको सम्मान गर्नु भनेको किसानलाई सधैँ कठिन श्रममै सीमित राख्नु होइन। आजको आवश्यकता ढिकी र मेसिनबीच प्रतिस्पर्धा गराउनु होइनस परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्नु हो।

ढिकीदेखि मेसिनसम्मको यात्रा परम्पराको अन्त्य होइन, त्यसको आधुनिक रूपान्तरण हो। कोदोको भविष्य खेतमा मात्र छैनस त्यो किसानको हातमा पुग्ने प्रविधि, गाउँमै हुने प्रशोधन, बजारसम्म पुग्ने मूल्य अभिवृद्धि र यी सबैलाई जोड्ने नीतिगत प्रतिबद्धतामा निर्भर छ। यदि हामीले कोदोलाई संरक्षणसँगै प्रवर्द्धन गर्न, उत्पादनसँगै प्रशोधन जोड्न र किसानसँगै बजारलाई जोड्न सक्यौँ भने राष्ट्रिय कोदो दिवसको नारा व्यवहारमा पनि सार्थक हुनेछ। यस्तो समग्र दृष्टिकोण अपनाउन सके मात्र कोदो नेपालको खाद्य तथा पोषण सुरक्षा, जलवायु–अनुकूल कृषि र समृद्ध ग्रामीण अर्थतन्त्र निर्माणको रणनीतिक आधार बन्न सक्छ।

(लेखक नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, ललितपुरमा कार्यरत वैज्ञानिक हुनुहुन्छ। उहाँ कृषि यान्त्रिकरण, सिँचाइ प्रविधि र दिगो कृषि प्रणालीका क्षेत्रमा अनुसन्धान र प्रविधि विकासमा संलग्न हुनुहुन्छ।)