ललितपुर। सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपीको बिक्री वितरण स्थगित गरेको छ ।
नजिकिँदै गरेको गहुँ बालीका लागि मल अभाव हुन नदिन भन्दै कृषि, वन तथा पर्यावरण मन्त्रालयले यस्तो निर्णय गरेको दाबी गरेको छ ।
मन्त्रालयको कृषि विकास महाशाखाअन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले १६ भदौमा एक पत्र जारी गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई डीएपी मलको बिक्री वितरण रोक्न निर्देशन दिएको हो ।
रजनिश मिश्रद्वारा हस्ताक्षरित पत्रमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण होर्मुज नाका बन्द भएको उल्लेख छ । सोही कारण रासायनिक मलको अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा अवरोध आई ‘फोर्स मेजर’को अवस्था सिर्जना भएको मन्त्रालयको दाबी छ ।
खरिद सम्झौता भइसकेको डीएपी मल समयमै आपूर्ति गर्ने अवस्था कमजोर देखिएको हुँदा गहुँ बालीको लागि डीएपी मलको कमी हुन सक्ने अवस्थालाई मध्यनजर गरी हाललाई डीएपी मलको बिक्री वितरण स्थगित गर्ने निर्णय गरेको मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।
मल बिक्री वितरण रोक्ने यस कदमलाई कार्यान्वयन गर्न मन्त्रालयले ‘मल वितरण व्यवस्थापन कार्यविधि, २०८२’ को दफा १२ को उपदफा (६) मा भएको व्यवस्थालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन समेत गरेको छ ।
हाल कृषि सामग्री कम्पनी लिमिटेडमा युरिया २२ हजार ९ सय १० टन मौज्दात छ भने करिब ३३ हजार टन भारत लगायतका देशबाट आउने बाटोमा छ । डीएपी मल गोदाममा १४ हजार ६ सय ४५ टन मौज्दात छ भने करिब १८ हजार टन आउन बाँकी रहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।










