ललितपुर। राष्ट्रिय कृषक समूह महासंघ नेपालले आफ्नो ‘१६ औं स्थापना दिवस’ को अवशरमा साना किसानको अधिकार, सम्मान, पहुँच र आत्मनिर्भर कृषि विकासका लागि महासंघले १६ वर्षदेखि निरन्तर अभियान सञ्चालन गर्दै आएको जनाएको छ । महासंघका अनुसार सेवा केन्द्रित संस्थाबाट संघर्षको यात्रालाई अघि बढाउँदै वि.सं. २०६६ सालमा कृषक समूह, पशु सेवा समूह तथा कृषि सहकारीहरूको छाता संगठनका रूपमा महासंघ स्थापना भएको हो । हाल महासंघमा ७० वटा जिल्लाका ११ हजारभन्दा बढी कृषक समूह, पशु सेवा समूह तथा कृषि सहकारीहरू आबद्ध रहेको जनाइएको छ ।

महासंघले साना किसानको पहुँच अभिवृद्धि गरी दिगो तथा आत्मनिर्भरमुखी उत्पादन वृद्धि र राष्ट्रिय उत्पादनमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ । सार्वजनिक निकाय, संघरसंस्था, कृषकहरु तथा कृषक समूह र कृषि सहकारीबीचको साझेदारीलाई सुदृढ बनाउँदै ग्रामीण जीविकोपार्जन तथा अर्थतन्त्र विकासमा योगदान पुर्‍याउने महासंघको भनाइ छ ।

महासंघले स्थापनाकालदेखि नै अधिकारमुखी अवधारणालाई अवलम्बन गर्दै भूमिहीन, सीमान्त, साना तथा महिला किसानको अधिकार प्राप्तिका लागि सदस्य समूहको क्षमता विकास, स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म समन्वय तथा सहकार्यमा जोड दिँदै आएको जनाएको छ ।

स्थापना दिवसको अवसरमा महासंघले विगत १६ वर्षमा सञ्चालन गरेका अभियान तथा उपलब्धिहरू पनि सार्वजनिक गरेको छ । प्रारम्भिक चरणमा किसान अधिकारप्रति समर्पित अभियान सुरु गर्दै क्षमता विकास र रणनीतिक योजना निर्माण, खाद्य अधिकार तथा खाद्य सुरक्षाका लागि अभियान, संगठन विस्तार, नीति पैरवी तथा किसानका सवाललाई सार्वजनिक बहसमा ल्याउने काम गरिएको महासंघले जनाएको छ । त्यसैगरी, महासंघले बाँझो जमिन उपयोग, किसानहरुले भोग्दै आएको क्षतिको क्षतिपूर्ति, कृषि संरचनाको स्थानीयकरण, किसान परिचय-पत्र, कृषि नमुना विकास, पुनर्लाभ तथा जीविकोपार्जन, कोदो बहस, खाद्य प्रणालीको स्थानीयकरण र उत्पादनमा आधारित पोषण लगायतका विषयमा पैरवी तथा अभियान सञ्चालन गरेको जनाएको छ ।

पछिल्ला वर्षहरूमा महासंघले किसानहरुको राजनीतिक तथा नीतिगत प्रतिनिधित्व, संगठन सुदृढीकरण र वातावरणमैत्री कृषि प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ । महिला किसान मञ्च गठन गरी विभिन्न विभागको भूमिकासहित परिचालन, किसान लेखापढी शिविर, किसानमैत्री नीति निर्माण तथा स्थानीय कृषि नीति निर्माणमा सहजीकरणसमेत गर्दै आएको महासंघले जनाएको छ ।

महासंघले पछिल्लो चरणमा रासायनिक मल तथा विषादीको बढ्दो निर्भरता घटाउँदै जैविक तथा दिगो कृषिको प्रवर्द्धन, पर्यावरणीय खेती, स्वस्थ उत्पादन, जलवायु परिवर्तनका असर न्यूनीकरण, जलवायु न्याय तथा किसान पाठशालाको विस्तार जस्ता विषयलाई अभियानको प्राथमिकतामा राखेको छ ।

महासंघका अनुसार आगामी दिनमा पनि किसानहरुको अधिकार प्राप्ति, समग्र कृषि विकास र साना किसानको जीवनस्तर सुधारका लागि सरोकारवालासँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने लक्ष्य रहेको छ । १६ औं स्थापना दिवसको मूल नाराका रूपमा ‘किसान अभियान-साना किसानको सम्मान’ अघि सार्दै महासंघले साना किसानको उत्पादनदेखि बजारसम्मको पहुँच, नीति निर्माणमा अर्थपूर्ण सहभागिता र अधिकार सुनिश्चितताका लागि आफ्नो अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ ।