काठमाडौं। फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)को ‘३४ औं वार्षिक साधारण सभा’  सम्पन्न भएको छ । सभाको प्रमुख अतिथिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रहेका थिए । कार्यक्रममा  एशोसिएसनका अध्यक्ष राजेश भक्त श्रेष्ठको सभापतित्व रहेको थियो, भने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वस्तुगत परिषद्का सभापति नरेश लाल श्रेष्ठ, राष्ट्रिय फलफूल विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत सृजना पौडेल, कृषि उद्यम केन्द्रका सभापति शिवप्रसाद घिमिरे, फ्यानको निवर्तमान अध्यक्ष मीन बहादुर तामाङ, नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्मालगायत विभिन्न निकायका प्रतिनिधि, पुष्प व्यवसायी तथा संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्राकृतिक विपतको यस समयमा एक अर्काले सहयोग गर्दै नेपाली उत्पादन र उत्पादकत्व वृद्धिको लागि सहयोगी हातहरु अगाडी बढाउनु पर्ने अवश्था रहेको औल्याउँदैं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पुष्प क्षेत्रको विकासको लागि महासंघ सधैं अग्र स्थानमा रहेको जानकारी दिए ।

साधारण सभामा फ्यानको वार्षिक कार्यप्रगति, आगामी नीति तथा कार्यक्रम, आर्थिक गतिविधि तथा पुष्प व्यवसायको समग्र अवस्थाबारे छलफल गरिएको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले नेपालमा पुष्प व्यवसायको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उत्पादन वृद्धि, प्रविधिको प्रयोग, बजार विस्तार तथा नेपाली फूललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने गरी नीति तथा कार्यक्रम आवश्यक रहेकोमा जोड दिएका थिए । साधारण सभामा फ्यानका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम विसर्जन गरेका थिए ।

फ्लोरिकल्चर एशोसिएसन नेपालले नेपाली पुष्प व्यवसायको प्रवद्र्धन, संरक्षण र व्यावसायीकरण गर्दै फूल तथा पुष्पजन्य उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने उद्देश्यले काम गर्दै आएको छ ।