आलु (Potato) नेपालको प्रमुख खाद्य तथा तरकारी बालीमध्ये एक हो। परम्परागत रूपमा आलुको गानो (Seed Tuber) नै बीउका रूपमा प्रयोग गरिन्छ। तर. गानो भारी हुने, ढुवानी र भण्डारण खर्चिलो हुने तथा रोग सर्ने सम्भावना बढी हुने भएकाले यसको विकल्पका रूपमा ट्रुपोटेटो सिड (True Potato Seed–TPS) प्रविधि विकास गरिएको हो। TPS भनेको आलुको फूलमा दुई फरक अभिभावक (Male र Female) बीच कृत्रिम परागसेचन (Hybridization) गरी उत्पादन गरिने वास्तविक वनस्पतिक बीउ हो। यो बीउ टमाटरको बीउजस्तै सानो हुन्छ र नर्सरीमा बिरुवा उत्पादन गरी खेतमा रोपिन्छ।

वनस्पति परिचय (Botany)
आलु एक शाकीय बहुवर्षीय (Herbaceous perennial) बोट हो, जसको उचाइ करिब ६० से.मी. सम्म हुन्छ। यसको फूल सेतो, गुलाबी, रातो, निलो वा बैजनी रङका हुन्छन्। सामान्यतया सेतो फूल भएका जातका गानाको बोक्रा सेतो र रङ्गीन फूल भएका जातका गानाको बोक्रा गुलाबी वा राताम्मे हुन्छ। आलुको फल (Berry) हरियो चेरी टमाटरजस्तो देखिन्छ र यसमा Solanine नामक विषालु एल्कालोइड हुने भएकाले खान योग्य हुँदैन। प्रत्येक बेरीमा करिब २००–३०० वटा TPS बीउ हुन सक्छ। आलुमा मुख्य रूपमा भमराहरू (Bumblebees) लगायत अन्य कीराहरूबाट पर–परागसेचन हुन्छ।

नेपालमा TPS प्रविधिको विकास
नेपालमा TPS सम्बन्धी प्रारम्भिक अनुसन्धान सन् १९७८ (वि.सं. २०३५) मा सुरु भएको थियो भने TPS प्रयोग गरी आलु उत्पादन कार्यक्रम सन् १९९२/९३ (वि.सं. २०४९/५०) बाट
सुरु गरिएको हो। हाल Sarlahi farm and nucleus seed potato production center, Nigale (Sindhupalchowk) लगायतका अनुसन्धान केन्द्रहरूमा TPS उत्पादन तथा अनुसन्धान भइरहेको छ।

1. अभिभावक (Parental Line) छनोट
TPS उत्पादनका लागि उपयुक्त नर र माउ अभिभावक छनोट अत्यन्त महत्वपूर्ण हुन्छ। नर अभिभावक (Male Line) मा प्रशस्त उर्वर पराग, अनिश्चित वृद्धि, रोग प्रतिरोधी क्षमता
तथा राम्रो Combining Ability हुनुपर्छ। यो प्रायः Solanum andigena बाट छनोट गरिन्छ। उदाहरण: TPS-13 (सेतो फूल) र TPS-67 (गुलाबी फूल)। माउ अभिभावक (Female Line) मा Late Blight प्रतिरोधी, Pollen Sterility भएको, राम्रो Combining Ability तथा धेरै गाना उत्पादन गर्ने क्षमता हुनुपर्छ। यो प्रायः Solanum tuberosum बाट छनोट गरिन्छ। उदाहरण: MF-I, MF-II तथा TPS-7।

2. अभिभावक लाइनको संरक्षण
अभिभावक लाइनको संरक्षण अनुसन्धानमुखी कार्य हो। रोगमुक्त अभिभावक लाइन कायम राख्न टिस्यु कल्चर प्रयोगशालामा नर र माउ लाइनको वृद्धि गरिन्छ। त्यसबाट Pre-basic Seed उत्पादन गरिन्छ। Pre-basic Seed बाट Basic-1 Seed Tuber तयार गरिन्छ र यही Basic-1 Seed Tuber प्रयोग गरी Crossing Block मा Hybrid TPS उत्पादन गरिन्छ।

3. Crossing Block स्थापना
Crossing Block भनेको नर र माउ लाइन रोपेर कृत्रिम परागसेचन गरिने विशेष खेत हो। नर र माउ लाइन १:४ अनुपातमा रोपिन्छ। पर्याप्त पराग उपलब्ध गराउन आधा नर लाइन
माउभन्दा एक हप्ता अगाडि र बाँकी आधा एक हप्ता पछि रोपिन्छ। यसले लामो समयसम्म पराग उपलब्ध गराई सफल संकरणमा सहयोग पुर्‍याउँछ।

4. TPS उत्पादनका लागि उपयुक्त वातावरण
TPS उत्पादनका लागि लामो दिन (Long Day Condition) आवश्यक हुन्छ, जसले प्रशस्त फूल उत्पादन गर्न मद्दत गर्छ। त्यसैले नेपालको उच्च पहाडी क्षेत्र तथा वर्षायाम उपयुक्त मानिन्छ। वर्षाका कारण कृत्रिम परागसेचन कठिन हुने भएकाले Plastic Tunnel, Green House वा Glass House प्रयोग गरिन्छ। तराईमा छोटो दिन हुने भएकाले साँझ ५ बजेदेखि राति ११ बजेसम्म Sodium Tube Light प्रयोग गरी अतिरिक्त प्रकाश प्रदान गरिन्छ। एक रोपनी क्षेत्रका लागि करिब १० वटा Sodium Tube Light आवश्यक. पर्छ।

5. पराग सङ्कलन तथा भण्डारण
फूल पूर्ण रूपमा फुलेपछि तर पराग नफुट्दै बिहान ११ बजाभित्र नर फूल सङ्कलन गरिन्छ। सङ्कलन गरिएको फूललाई एक दिन कोठाको तापक्रममा राखी Vibrator को सहायता ले
पराग निकालिन्छ। परागलाई हावाबन्द भाँडोमा ४–१०°C तापक्रममा राखिन्छ। Silica Gel र Desiccator प्रयोग गरेमा पराग १५ दिनसम्म सुरक्षित रहन्छ।

6. कृत्रिम परागसेचन (Pollination)
माउ फूलको वर्तिकाग्र (Stigma) लाई Petridish मा राखिएको परागमा डुबाइन्छ वा Brush अथवा Forceps को सहायता ले पराग लगाइन्छ। बिहानको समयमा Stigma बढी ग्रहणशील हुने भएकाले परागसेचन सोही समयमा गरिन्छ। आवश्यक परे २४ घण्टाभित्र दोस्रो पटक पनि परागसेचन गर्न सकिन्छ। प्रत्येक बोटमा ४–६ वटा मुख्य डाँठ र प्रत्येक डाँठमा ६–८ वटा फूल मात्र राखी बाँकी फूल हटाइन्छ।

7. Crossing Block व्यवस्थापन
अनावश्यक फूल हटाउने, सिँचाइ, मल व्यवस्थापन तथा रोग–कीरा नियन्त्रण नियमित रूपमा गरिन्छ। बेरी राम्रोसँग पाक्न बोटको आयु बढाउन प्रत्येक १५ दिनमा १५ किलोग्राम युरिया प्रति हेक्टर Top Dressing वा प्रत्येक ७ दिनमा २% युरिया Foliar Spray गरिन्छ। हल्का सिँचाइ गरिन्छ। गाढा हरियोबाट हल्का हरियो र कडा अवस्थाबाट नरम अवस्थामा पुगेको बेरी परिपक्व भएको मानिन्छ। सामान्यतया परागसेचन भएको ६–७ हप्तामा बेरी परिपक्व हुन्छ तर १० हप्तापछि संकलन गर्नु उपयुक्त हुन्छ।

8. बेरी संकलन र Curing

संकलन गरिएका बेरी धोएर छायाँमा सुकाइन्छ र राम्रो हावा चल्ने कोठामा १०–१५ दिन राखिन्छ। यस प्रक्रियालाई Curing भनिन्छ, जसले बेरी नरम बनाइ बीउ निकाल्न सजिलो
बनाउँछ।

9. बीउ निकाल्ने (Seed Extraction)
बेरीलाई Juice Extractor वा अन्य Crushing Machine बाट किचिन्छ। त्यसपछि Decantation विधिबाट बीउ र गुदी अलग गरिन्छ। बीउलाई सफा पानीले राम्ररी धोई छायाँमा
सुकाइन्छ।

10. बीउ उपचार (Seed Treatment)
बीउलाई १०% Hydrochloric Acid मा २० मिनेट डुबाइ बारम्बार पानीले धोइन्छ। त्यसपछि ०.५% Sodium Hypochlorite मा १० मिनेट राखी पुनः सफा पानीले धोइन्छ।
यसले ब्याक्टेरियाजन्य रोग नियन्त्रण गर्न मद्दत गर्छ।

11. बीउ सुकाउने र प्रशोधन
बीउलाई राम्रो हावा चल्ने छायाँमा ७२ घण्टा सुकाइ करिब ७% चिस्यान कायम गरिन्छ। त्यसपछि आधा घण्टा घाममा सुकाएर ४.५–५% चिस्यानमा ल्याइन्छ। प्रशोधनका क्रममा
Winnowing, Grading तथा Dormancy Breaking गरिन्छ। तुरुन्त प्रयोगका लागि GA₃ 1500 ppm मा १२ घण्टा उपचार गरिन्छ। ३५–३६°C तापक्रममा ६ महिना भण्डारण गरे
पनि Dormancy हट्छ। अंकुरण परीक्षणका लागि बीउलाई Incubator मा ७ दिन राखिन्छ। ५०% भन्दा बढी अंकुरण भएमा बीउ राम्रो मानिन्छ।

12. भण्डारण र प्याकेजिङ
TPS बीउ ४.५–५% चिस्यानमा हावाबन्द तथा चिस्यान नछिर्ने भाँडोमा भण्डारण गरिन्छ। प्याकेजिङका लागि Aluminium Coated Polythene वा ५०० Gauge Polythene प्रयोग
गरिन्छ।

13. बीउ उत्पादन
उचित व्यवस्थापन गरेमा एक हेक्टर क्षेत्रबाट करिब १००–१५० किलोग्राम TPS बीउ उत्पादन गर्न सकिन्छ।

नेपालमा सिफारिस गरिएका TPS जातहरू
HPS II/67
HPS I/13
HPS 7/67

अन्य जातहरू:
HPS I/67
HPS 7/13
Cerena × TPS 67
LT 8 × TPS 13

TPS प्रविधिका फाइदाहरू
रोगमुक्त बीउ उत्पादन हुन्छ।
बीउको ढुवानी र भण्डारण सजिलो तथा सस्तो हुन्छ।
थोरै बीउले धेरै क्षेत्रफलमा खेती गर्न सकिन्छ।
गुणस्तरीय रोपाइँ सामग्री उत्पादन हुन्छ।
नयाँ जात विकास र अनुसन्धानमा उपयोगी हुन्छ।

TPS प्रविधिका सीमितताहरू (Limitation)
सबै बिरुवा एकनासका नहुन सक्छन्।
नर्सरी व्यवस्थापन आवश्यक हुन्छ।
प्रारम्भिक अवस्थामा बिरुवा कमजोर हुन सक्छ।
सफल उत्पादनका लागि दक्ष प्राविधिकको आवश्यकता पर्छ।

निष्कर्ष (Conclusion)
ट्रु पोटेटो सिड (TPS) उत्पादन प्रविधि आलुको बीउ उत्पादनको आधुनिक, वैज्ञानिक र किफायती विधि हो। यसले रोगमुक्त बीउ उत्पादन, बीउ ढुवानी तथा भण्डारण खर्चमा कमी, उच्च गुणस्तरको रोपाइँ सामग्री उपलब्ध गराउनुका साथै नयाँ आलु जात विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ। नेपालजस्तो देशमा गुणस्तरीय आलु बीउको अभाव समाधान गर्न तथा
आलु उत्पादनलाई दिगो र व्यावसायिक बनाउन TPS प्रविधिको भविष्य अत्यन्त उज्ज्वल मानिन्छ।