हेटौंडा ।  नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)ले कृषि यान्त्रीकरण तथा प्रविधिको विकास र प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारसँग ११ बुँदे माग राखेको छ ।

संघका अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार बागमती प्रदेश सरकारका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरलाई भेटेर ज्ञापनपत्र बुझाउँदै कृषि यान्त्रीकरणलाई कृषि क्षेत्रको महत्वपूर्ण लगानीका रूपमा स्थापित गर्न माग गरेको हो ।

नामियाले कृषि यान्त्रीकरण प्रविधिलाई बीउ, मल र सिँचाइजस्तै महत्वपूर्ण कृषि सामग्रीका रूपमा राखी नीति निर्माण गर्नुपर्ने माग गरेको छ । कृषि यन्त्र तथा प्रविधिको प्रयोगले उत्पादन र उत्पादकत्व बढाउनुका साथै उत्पादन लागत घटाउन सहयोग गर्ने भएकाले यसलाई कृषि विकासको अभिन्न अंगका रूपमा अघि बढाउनुपर्ने संघको भनाइ छ ।

नामियाले सार्वजनिक–निजी साझेदारीमार्फत कृषि यान्त्रीकरण प्रविधिको विकासका लागि आवश्यक अध्ययन गरी सहकार्यको मोडालिटी निर्माण गर्न पनि माग गरेको छ । कृषि यान्त्रीकरणसम्बन्धी उत्कृष्टता केन्द्र, उच्चस्तरीय कृषि मेसिनरी पार्क तथा कृषि यान्त्रीकरणसम्बन्धी प्रदर्शनी र तालिम केन्द्रजस्ता संरचना विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको संघले जनाएको छ ।

कृषि यान्त्रीकरण तथा कृषि उपजसम्बन्धी उद्योगलाई प्रोत्साहन गर्न बैंकको ब्याजदरमा अनुदान, उद्योग स्थापनाको पहिलो पाँच वर्ष आयकर छुट तथा कोल्ड स्टोर र कृषि उद्योगका लागि विद्युत् महसुलमा सहुलियत दिनुपर्ने माग पनि नामियाले गरेको छ ।

किसानले आफ्नो आवश्यकता र भूगोलअनुसार कृषि यन्त्र, उपकरण तथा प्रविधि आफैं छनोट गर्न पाउने व्यवस्था गर्नुपर्ने र अनुदान रकम किसानकै खातामा पठाउने प्रणाली लागू गर्नुपर्ने माग ज्ञापनपत्रमा छ । कृषि मेसिनरी तथा प्रविधि खरिदमा वित्तीय सुविधा विस्तार गर्दै ब्याज अनुदानको व्यवस्था गर्नुपर्ने लगायतका माग राखिएको नामियाका अध्यक्ष कृष्ण शर्माले बताए ।

बागमती प्रदेशका दुर्गम क्षेत्रमा कृषि मेसिनरी मर्मतका लागि पर्याप्त वर्कसप नभएको भन्दै संस्थाले ‘एक पालिका, एक वर्कसप’को अवधारणा अघि बढाउन माग गरेको छ । त्यस्तै, बीउ तथा बेर्नामा आत्मनिर्भरता बढाउन ‘एक पालिका, एक नर्सरी घर’को अवधारणा लागू गर्नुपर्ने माग गरिएको छ ।

कृषि क्षेत्रमा संलग्न महिलाको ठूलो सहभागितालाई ध्यानमा राख्दै महिला मैत्री कृषि यन्त्र तथा प्रविधिको विकास र प्रवर्द्धनमा जोड दिनुपर्ने नामियाको माग रहेको महासचिव अर्जुन लुइँटेलले बताए । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको असरलाई मध्यनजर गर्दै जलवायु मैत्री र गुणस्तरीय कृषि प्रविधिको विकास गर्न पनि सरकारको ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।

नामियाले कृषि यान्त्रीकरणका लागि छुट्टै पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग गरेको छ । महँगा कृषि मेसिन व्यक्तिगत रूपमा खरिद गर्न नसक्ने साना किसानलाई लक्षित गर्दै प्रदेशभर ‘कस्टम हायरिङ सेन्टर’ विस्तार गरी भाडामा कृषि मेसिन उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ ।

दुर्गम क्षेत्रमा विगतदेखि वितरण तथा सञ्चालनमा रहेका कृषि मेसिनरी तथा औजारको मर्मतसम्भारका लागि दक्ष तथा अर्धदक्ष जनशक्ति उत्पादन गर्न व्यावसायिक तालिम सञ्चालन गरी रोजगारी सिर्जना गर्नुपर्ने विगतदेखिको नामियाको धारणा रहेको र सो विषय पनि ज्ञापन पत्रमा समेटिएको संस्थाका सचिव श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि कृषि यान्त्रीकरणलाई प्राथमिकतामा राख्नुपर्ने संघको निष्कर्ष छ । संघले कृषि क्षेत्रमा बढ्दो उत्पादन लागत, श्रम अभाव, कृषि योग्य जमिनको खण्डीकरण र जलवायु परिवर्तनका कारण देखिएका चुनौती समाधानमा यान्त्रीकरण महत्वपूर्ण माध्यम बन्न सक्ने जनाएको छ।

नामियाको ज्ञापनपत्र बुझ्दै बागमती प्रदेश कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री रमा आले मगरले नामियाको माग जायज रहेकाले मन्त्रालयले प्राथमिकतासाथ यसमा काम गर्ने आश्वासन दिएकी छिन् । “हामीले ज्ञापनपत्र दिँदै विगतदेखिका हाम्रा अभ्यासहरूका बारेमा पनि जानकारी गरायौँ, मन्त्रीज्यु र मन्त्रालय निकै सकारात्मक रहेकाले कृषि यान्त्रिकरण प्रवर्धनका लागि मन्त्रालय र नामिया सँगसँगै अघि बढ्नेमा ढुक्क छौँ,” अध्यक्ष शर्माले भने ।