ललितपुर। आगामी खेती सिजनमा किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्वतयारी तीव्र पारेको बताएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।

मल खरिदका लागि अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबर स्रोत सुनिश्चितता (बजेट सहमति) प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बजेटको टुङ्गो लागेसँगै उक्त रकमबाट आवश्यक मल खरिद गर्न छिट्टै टेन्डर (बोलपत्र) आह्वान गर्ने तयारी भइरहेको छ ।

विगतका वर्षहरूमा जस्तो मुख्य सिजनमा किसानले मलको हाहाकार बेहोर्नु नपरोस् भन्ने उद्देश्यले यसपालि बेलैमा काम सुरु गरिएको मन्त्रालयको भनाइ छ । किसानको समस्या मध्यनजर गर्दै मल खरिद र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर द्रुत गतिमा काम अघि बढाइएको मन्त्रालयको दाबी छ ।