ललितपुर। नेपाली कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई थप विस्तार गर्ने उद्देश्यले मुक्तिनाथ कृषि कम्पनीले जापानी प्रविधियुक्त ‘सोलिस ट्र्याक्टर’ नेपाली बजारमा भित्र्याएको छ।
कम्पनीले बिहीबार वीरगञ्जमा शोरुम उद्घाटनसहित आयोजित विशेष समारोहबीच जापानी प्रविधि र युरोपियन डिजाइनको संयोजन रहेको ५ विभिन्न मोडलका फार्म ट्र्याक्टर व्यवसायी तथा कृषकमाझ सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार सार्वजनिक गरिएका ट्र्याक्टरमा ४७२०, ५२२०, ५७२०, ५७२० ४ध्म् र ७०२० मोडल रहेका छन्।
कम्पनीले औपचारिक शुभारम्भअघि मधेश प्रदेशको वीरगञ्ज वरपरका कृषि क्षेत्रमा तीन दिने ‘रोड–शो’ सञ्चालन गरेको थियो। उक्त रोड–शोमार्फत कृषक तथा व्यवसायीबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र मागलाई सम्बोधन गर्दै बिहीबारदेखि देशभर ट्र्याक्टरको औपचारिक बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ।
मुक्तिनाथ कृषि कम्पनीले कृषि सम्बन्धी मल, बीउ, साना औजार तथा उपकरण र नयाँ–नयाँ प्रविधिसँगै यसअघि अत्याधुनिक ट्र्याकयुक्त कम्बाइन हार्भेस्टर सफलतापूर्वक नेपाली बजारमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार यसबाट नेपाली युवा तथा किसानलाई व्यावसायिक तथा प्रविधियुक्त खेतीतर्फ आकर्षित गर्न सहयोग पुगेको छ।
सोलिस ट्र्याक्टरको बजार प्रवेशसँगै कृषि यान्त्रिकीकरणको क्षेत्रमा थप एक कोसेढुङ्गा स्थापित भएको कम्पनीको भनाइ छ।
नेपालको विषम भौगोलिक बनावट तथा तराईदेखि पहाडसम्मका फरक–फरक कृषि र ढुवानी आवश्यकतालाई सम्बोधन गर्न सोलिस ब्रान्डका पाँचवटा विशिष्ट मोडल छनोट गरिएको कम्पनीले जनाएको छ।
आधुनिक कृषि उपकरणको अभावमा नेपाली किसानले व्यहोर्नुपरेको उच्च उत्पादन लागत, कमसल गुणस्तरको प्रयोग र जनशक्ति अभावको समस्यालाई सोलिस ट्र्याक्टरले दीर्घकालीन रूपमा समाधान गर्ने कम्पनीको दाबी छ।
विश्वकर्मा पूजाको दिन गरिएको औपचारिक शुभारम्भसँगै नजिकिँदै गरेका दशैँ, तिहार तथा छठ पर्वको अवसरमा कम्पनीले सोलिस ट्र्याक्टरको खरिदमा विशेष छुटका साथै आकर्षक उपहार योजना पनि ल्याएको जनाएको छ।
शक्तिशाली इन्जिन, उत्कृष्ट कार्यक्षमता, इन्धन बचत तथा बलियो संरचनाका लागि परिचित सोलिस ट्र्याक्टर कम्पनीले नेपालभर रहेका आफ्ना शाखा कार्यालय तथा डिलर सञ्जालमार्फत बिक्री–वितरण गर्ने जनाएको छ।









