धुलिखेल। तेमाल गाउँपालिकाले रैथाने बाली संरक्षणका लागि रैथाने बाली मूल्य शृङ्खला प्रवद्र्धन कार्यक्रम लागू गरेको छ । कार्यक्रम अन्तर्गत किसानलाई ५० प्रतिशत छुटमा कृषि औजारसमेत वितरण गरिएको पालिकाले जनाएको छ ।

कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोक र लप्से भूमिस्थान किसान समूहको साझेदारीमा पालिका अध्यक्ष चन्द्रबहादुर तामाङले किसानलाई कृषि उपकरण साथै बीउविजन वितरण गर्नुभयो । उहाँले रैथाने बाली उत्पादन र संरक्षण गरी गाउँपालिकाले मौलिक उत्पादनमा योगदान गरिरहेको बताउनुभएको छ ।

रैथाने बाली जीवन उपयोगी र स्वास्थ्यबद्र्धक रहेको भन्दै उहाँले यसको संरक्षणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा निरन्तरता दिएको बताउनुभयो ।

उहाँले सरोकारवाला निकायसँगको सहकार्य र समन्वयमा गाउँपालिकाले कृषिमा आधुनिकिकरणसहित रैथाने बाली उत्पादनमा सक्रियता बढाउने पनि बताउनुभयो । गाउँपालिकालाई रैथाने बाली उत्पादनमा आत्मनिर्भर बनाउँदै निर्यात गर्ने गरी योजना बनाइएको उहाँको भनाइ छ ।