दोधारा चाँदनी। कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन । सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमटिर मूलनहरमा पानी परीक्षण गरेको थियो । परीक्षणको क्रममा महाकालीको पानीले पहिलो रोपाइँसमेत गरिएको थियो । त्यसयता महाकाली सिँचाइको नहरमा पानी सञ्चालन हुन सकेको छैन ।

आयोजनाअन्तर्गत करिब २८ किलोमिटरसम्म मूल नहर निर्माण भइसकेको छ । उक्त क्षेत्रमा २२ शाखा नहर निमार्णधीन अवस्थामा छन् । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भारतको टनकपुर ब्यारेजबाट पानी आउने उक्त नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन नसकेको बताउनुभयो । “हामीले पानी सञ्चालनका लागि पटक–पटक ताकेता गर्दै आएका छौँ । भारतीय पक्षले दुवै देशको संयुक्त उद्घाटनपछि मात्रै पानी सञ्चालन हुने जानकारी दिँदै आएको छ ”, उहाँले भन्नुभयो । उहाँले दुवै देशको उच्च तहबाट हुने भनिएको उद्घाटनको टुङ्गो नलाग्दा नहरमा पानी सञ्चालन अन्योलमा परेको बताउनुभयो ।

टनकपुर ब्यारेजबाट नेपाल–भारत सीमासम्म एक हजार दुई सय मिटर मूल नहर भारतीय पक्षले निर्माण सम्पन्न गरी तयारी अवस्थामा राखेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले अनलाइनबाट संयुक्त रूपमा नहरको उद्घाटन गर्ने कार्यक्रम तय भए पनि कोरोना सङ्क्रमण बढेपछि उद्घाटन स्थगित भएको थियो ।

आयोजना कार्यालयका अनुसार मूल नहरमा पानी सञ्चालनमा आए किसानको खेतसम्म पानी पुर्‍याउन समस्या हुने छैन । महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि बर्खायाममा एक हजार क्युसेक र हिउँदमा तीन सय क्युसेक पानी पाउने उल्लेख छ ।
रासस