गलेश्वर। म्याग्दीको मालिका गाउँपालिकाका एकल तथा फरक क्षमता भएका महिला वडा–वडामा अचार उद्योग स्थापना गरेर आयआर्जन गर्ने तयारीमा जुटेका छन् । गाउँपालिकाले सातै वडाका महिलालाई एक साताको अचार बनाउने तालिम दिएपछि उनीहरु अचार उत्पादन गर्न लागिपरेका हुन् ।

तालिममा सहभागी २५ महिलालाई गाउँपालिकाले प्रतिव्यक्ति रु. २६ हजारका दरले अनुदान दिएर अचार उद्योग सञ्चालनका लागि प्रेरित गरेको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । महिलाले वडा–वडामा उत्पादन गरेको अचार गाउँपालिकाले नै बजारीकरण (बिक्री) गरिदिने उहाँको भनाइ छ ।

गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम’अन्तर्गत एकल, फरक क्षमता भएका तथा कोभिड–१९ प्रभावित र हिंसापीडित महिलालाई अचार बनाउने तालिम दिइएको थियो । आत्मनिर्भर बनाउने उद्देश्यले तालिम प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले बताउनुभयो । आगामी आर्थिक वर्षका लागि वडास्तरबाटै सीपमूलक तालिम सञ्चालन गर्न आवश्यक योजना बनाएर बजेट विनियोजन गरिने उहाँको भनाइ छ ।

गाउँघरमा पाइने टमाटर, मुला, गाजर, गुन्द्रुक, भटमास, बन्दा, काउली, अमला, कागतीलगायतको प्रयोग गरी अचार बनाउन थालिएको छ । यसबाट आम्दानी गर्न सकिने मिलन म्याग्दीकी कार्यकारी निर्देशक दिलमाया विटालुले बताउनुभयो । सहर तथा बजारका होटल र रेष्टुरेन्टमा अन्यत्रबाट अचार खरिद गरी ल्याउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको विटालु बताउनुहुन्छ ।
रासस