इनरुवा। कोशी प्रदेश सरकारले प्रदेशमा दूध उत्पादन गर्ने छ जिल्लाका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर रु. दुईका दरले दिने अनुदान प्रदान गरेको छ ।

स्थानीय तथा ग्रामीण क्षेत्रमा भैँसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि दूधमा प्रतिलिटर रु. दुईका दरले अनुदान रकम प्रदान गरिएको हो । आज नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्र इनरुवा–५ बलाहामा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाको हातबाट किसानलाई अनुदान रकम प्रदान गरिएको छ ।

डेरीमा प्राप्त दूधको विवरणानुसार अनुदान रकम प्रदान गरिएको नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्रका सञ्चालक गोविन्द पोखरेलले जानकारी दिनुभयो । केन्द्रमा दूध दिने दुई सय किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रमा भँैसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि प्रदेश सरकारले चालू आवमा रु. १२ करोड ५० लाख रकम अनुदानका लागि विनियोजन गरेको छ ।

कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा र इलामका चिस्यान केन्द्र, डेरी तथा सहकारीका माध्यमबाट किसानलाई अनुदान दिइने कार्यक्रम रहेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख सचिव मेघनाथ तिमिल्सिानाले बताउनुभयो ।

जिल्लाका भेटेरिनरी अस्पतालबाट सूचना नै जारी गरेर दूध सङ्कलन गर्ने संस्थासँग आवेदन माग गरेको र आवेदनबाट सुनसरीको हकमा १८ संस्था छनोटमा परेकाले सोही संस्थामार्फत किसानको तथ्याङ्क सङ्कलन गरेर उनीहरुलाई अनुदान रकम वितरण गरिएको जानकारी दिनुभयो ।
रासस