बलेवा। कृषि तथा पशुजन्य उत्पादन वृद्धि र बजारीकरणका लागि बागलुङको बरेङ गाउँपालिकाले किसानसँग छलफल थालेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनुपूर्व किसानसँग छलफल थालेको हो । किसानका समस्या एकातर्फ र गाउँपालिकाको बजेट तथा कार्यक्रम अर्कोतर्फ हुने गरेकाले किसानका समस्या पहिचान गर्न छलफल थालिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

बरेङले योजना निर्माण पूर्व व्यावसायिक किसानसँग छलफल थालेको यो पहिलो पटक हो । “हामीले कृषि क्षेत्रमा धेरै लगानी गरिरहेका छौँ, त्यसको प्रगति, किसान सन्तुष्ट छन् कि छैनन् भनेर खोजी गर्न विज्ञसहितको छलफल थालेका हौँ”, अध्यक्ष शर्माले भन्नुभयो, “हामीले कल्पना गरेका भन्दा फरक समस्या र चुनौती किसानले सुनाउनुभएको छ, अब योजना निर्माण गर्दा समस्याको समाधान गर्ने गरी काम गछौँ ।”

“हामीले गोठ व्यवस्थापनको योजना बनाउने, किसानलाई खोर व्यवस्थापन आवश्यक हुने”,उहाँले भन्नुभयो,“बीउमल चाहिने बेला सिँचाइ र सिँचाइ चाहिने बेला बीउमलको चर्चा हुने परिपाटीको अन्त्य गर्न सम्बन्धित किसानसँगै छलफल थालिएको हो ।” पालिकाले सोमबार ६३ जना व्यावसायिक किसानलाई भेला गरेर कृषि विज्ञसँग छलफल गराएको थियो । प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना बागलुङ, चितवन र ललितपुरमा कार्यरत कृषिविज्ञ सुजित पौडेल, नारायण पौडेल, दीपक शर्मा, इन्द्र ढुङ्गाना, माधव पौडेलसँग किसानले छलफल गर्नुभएको थियो

किसानले उत्पादनमा एकरुपता नहुनु, बजारीकरणमा समस्या, उत्पादन समयमा बजार पु¥याउन नसक्दा लागत बढ्नु व्यावसायिक किसानका समस्या भएको बताउनुभयो । “हामीले उत्पादन गरेका बङ्गुरले बजार पाउँदैनन्, बाहिरी बजारबाट आएको मासुले मूल्य घटाइदिन्छ”, किसान सन्त श्रीषले भन्नुभयो, “थोरै उत्पादन बजार नपुग्ने, एउटै किसानले धेरै उत्पादन गर्न नसक्ने समस्या छ ।” किसानले एकीकृत खेती प्रणाली, सामूहिक लगानी र उत्पादन तथा बजारीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

किसानले कृषिउपजको बजारीकरण सहज बनाउन सन्त श्रीषको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ । किसानले कृषिउपज सङ्कलन केन्द्र, बजारीकरण र उत्पादन लागतमा सहयोग गर्न पालिकालाई आग्रह गरेका थिए ।रासस