ललितपुर। पश्चिमी वायुको प्रभावले आज पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले प्रदेश नं १, २ तथा सुदूरपश्चिमी प्रदेशमा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने बताइएको छ ।

त्यस्तै माघ १ गते प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन सबैमा अनुरोधसमेत गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव छ डिग्री र अधिकतम तापक्रम १६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव चार डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २२ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । रासस