ललितपुर। पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावले आज पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बाढीपहिरोबाट प्रभावित सडकमा अवरोध कायम रहेकाले यात्रु तथा ढुवानी व्यवसायीलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभाग र बागमती, गण्डकी तथा कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहने पूर्वानुमान छ।

दिउँसो पहाडी भूभागका केही र हिमाली भूभागका थोरै स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्मको वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थान तथा मधेशसहित अन्य प्रदेशका तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ।

आज राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात तथा तराईमा बिहानीपख कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।