वालिङ। स्याङ्जा वालिङमा बाख्रापालन समूहका किसानहरुले सार्वजनिक सुनुवाई गरेका छन् । विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराले अनुदान साझेदारी गर्ने भएपछि वालिङ १ धरमपानीका फूलबारी बाख्रापालन समूहका किसानहरुले सोमबार सार्वजनिक सुनुवाई गरेका हुन् ।

उन्नत बाख्रापालन तथा खसीबोका विक्रि वितरण उप आयोजनाका लागि नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाद्वारा विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराले अनुदान साझेदारी हुने भएको हो । सहयोग इकाईले साझेदारी गर्ने भएपछि धरमपानीका ३० घर परिवारका १ सय ५० जना लाभान्वित हुने भएका छन् । उप आयोजना अन्तर्गत ३ सय बाख्रापाल्ने समूहको योजना छ ।

अनुदानग्राही संस्थाको २७ लाख ७६ हजार ४ सय १९, वित्तीय लगानी ४२ लाख १८ हजार ६ सय ९३ र साझेदारी आयोजनाको अनुदान रकम रु.६९ लाख १९ हजार १ सय २६ गरी कूल १ करोड ३९ लाख १४ हजार २ सय ३८ रुपैयाँमा उप आयोजना सम्पन्न गरिने भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वालिङ नगरपालिका पशुसेवा कार्यालयका लेखनाथ अर्यालले उप आयोजनाका लागि यति ठूलो रकम अनुदान प्राप्त हुनु राम्रो अवसर भएको बताउनुभयोे । अर्यालले प्राप्त अनुदानको उपयोगसँगै नमूनाकारुपमा बाख्रापालन व्यवसायी बन्न किसानहरुलाई आग्रह गर्नुभयो । पहिला जस्तो झोले किसानको समय अब नभएको उल्लेख गर्दै अर्यालले बास्तविक व्यवसायीहरुले अनुदान पाउन थालेको व्यक्त गर्नुभयो । साझेदारी आयोजनाको विधी र प्रकृया अनुसार छिटो काम गरेर लाभ लिन उहाँको आग्रह छ ।

कार्यक्रममा नेपाल लाइभ स्टक सेक्टर इनोभेसनका प्रतिनिधी नन्दकुमार ओलीले समयमै उप आयोजना सम्पन्न गरी अनुदान उपयोग गर्न आग्रह गर्नुभयो । राज्यले वास्तविक किसानको पहिचान गरेर अनुदान दिन थालेको उल्लेख गर्दै इनोभेसनका प्रतिनिधी ओलीले आयोजनाका विधि र प्रकृयामा सरलता ल्याउन आफ्नो पूर्ण सहयोग रहने व्यक्त गर्नुभयो ।

उन्नत जातको बाख्रा तथा स्वच्छ र गुणस्तरीय मासु उत्पादन गर्ने उप आयोजनाको उद्देश्य रहेको छ ।