
वालिङ। स्याङ्जाको गल्याङमा दुग्ध उत्पादक सहकारी संस्थाले सार्वजनिक सुनुवाई गरेको छ । गल्याङ नगरपालिका वडा नम्बर ८, झोल्पेमा उन्नत गाई भैंसी पालन तथा दुग्ध उत्पादन कार्यक्रम सम्बन्धी विहिबार सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाद्वारा सञ्चालित उप आयोजना अन्तर्गत उन्नत गाई भैंसीपालन तथा दुग्ध उत्पादन कार्यक्रम सम्बन्धी सार्बजनिक सुनुवाई गरिएको हो ।
२ करोड १ लाख ८४ हजार ७ सय ९२को उप आयोजनामाका लागि अनुदान दिने संस्थाले कूल लागतको ५१ प्रतिशत हुन आउने १ करोड अनुदान प्रदान गरेको हो । कूल लागतमा अनुदान ग्राहिको २० दशमलव ६ प्रतिशत र बाँकि बैंक वित्तीय संस्थाको कर्जा लगानीमा उप आयोजना सम्पन्न गरिने सहकारीले जनाएको छ ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले किसानलाई नगरपालिकाले सहयोग गर्दै आएको र अझै धेरै अनुदानको व्यवस्था गर्न आँफु तयार रहेको बताउनुभयो । उहाँले देशको सबैभन्दा ठूलो शक्ति कृषक हुन र उनीहरुलाई अनुदान दिन कन्जुस्याई गर्न नहुनेमा जोड दिनुभयो । उहाँले नगरपालिकाको पहलमा विभिन्न अनुदानहरु ल्याउने काम भैरहेको र नगरपालिकाले पनि अनुदानको व्यवस्था गरिरहेको उल्लेख गर्नुभयो ।
नगरपालिकाले दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्थाले किसानमा उत्साह थपिएको नगर प्रमुख अधिकारीको विश्वास छ । देशमा फैलिएको कोरोना संक्रमणका कारण नगर भित्र धेरै काम गर्न बाँकी रहेको भन्दै उत्साहका साथ काममा लाग्न किसानहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले तोकेको मापदण्डमा रहेर परियोजना सफल पार्न आग्रह गर्नुभयो । उहाँले नगरपालिकाको तर्फबाट सबै किसानहरुलाई सहयोग गर्न शाखा तयार रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा उपआयोजनाका व्यवस्थापक रामचन्द्र खरालले आयोजनाका बारेमा जानकारी गराउनु भएको थियो ।