ललितपुर। फ्लोरिकल्चर एसोशिएसन नेपालले भोली (कातिक १२) गतेबाट सुरु हुन लागेको १४ औं गोदावरी पुष्प मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

ललितपुरको जावलाखेल खेल मैदानमा ४ दिन सम्म चल्ने १४ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको  सम्पूर्ण तयारी सकिएको फ्लोरिकल्चर एसोशिएसन नेपालका महासचिव विश्वमणी पोखरेलले जानकारी दिए।

प्रदर्शनीमा ४४ वटा व्यवसायीक र ४ वटा सूचनामूलक गरि ४८ वटा स्टल रहने छ ।

प्रदर्शनीमा नेपालमा विगत बर्षदेखि नै व्यवसायीक उत्पादन हुदै आएका विविध जातका गोदावरी फूल विरुवाका साथै यस बर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूल विरुवाहरुको समेत प्रदर्शनी तथा विक्रि, वितरण हुने छ । यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरूको समेत प्रदर्शनी हुने छ ।

मेलामा करीब ३५ हजार उपभोक्ताले अवलोकन गर्ने र फूलको कारोबार ५० लाख रुपैयाँ हारीहारी पुग्ने अनुमान गरिएको एशोसिएसनले जनाएको छ ।

मेलामा गोदावरी फूल उत्पादक किसानलाई विभिन्न विद्यामा प्रतिस्पर्धा गराई उत्कृष्ट एक स्टललाई नगद पुरस्कार दिइने पनि आयोजकले जनाएको छ । मेला प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ उक्त शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट हुनेछ ।