स्याङ्जा। वालिङका किसानहरु विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराले अनुदान साझेदारी गर्ने भएपछि उत्साही भएका छन् । किसानहरुले सार्वजनिक सुनुवाई मार्फत इकाईको साझेदारीबाट थप उत्साही बनाएको बताएका हुन् । वालिङ ८ बगालथोक गेदिखोलाको नवदुर्गा दुग्ध उत्पादक समूहका किसानहरुले नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना एवम् विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराले अनुदान साझेदारी गर्ने भएपछि पहिलो चरणको सार्वजनिक सुनुवाई गरेका हुन् । आयोजना इकाईले साझेदारी गर्ने भएपछि आँफुहरुलाई थप उत्साही बनाएको समूहका अध्यक्ष रीमाकान्ती बगालेले बताउनुभयो ।

“गोठ हटाऔं, बगैंचा बनाऔं” भन्ने मूल नारा सहित यहाँका १४ जना किसानहरुले सामुहिक पशुपालन गर्दै आएका हुन् । १४ वटाबाट सुुरु गरेको उनीहरुको फर्ममा साना ठूला गरेर अहिले २९ वटा भैंसी र एकवटा गाई गरी ३० वटा छन् । किसानहरुको २० प्रतिशत, वित्तीय लगानी ३० प्रतिशत र इकाईको तर्फबाट रु.७२ लाख ३९ हजार ३ सय ४१ अनुदान रकम सहित कूल १ करोड ४८ लाख ६१ हजार २ सय ७२ लगानीमा उप आयोजना सम्पन्न गरिने समूहका उपाध्यक्ष प्रदीप बगालेले जानकारी गराउनुभयो । समूहले “उन्नत गाई भैंसी पालन तथा दुग्ध उत्पादन उप आयोजना” आगामी असार मसान्तसम्म सम्पन्न गर्ने समूहका उपाध्यक्ष बगालेले बताउनुभयो । ८ जना पुरुष र ६ जना महिलाको सहभागिता रहेको समूहले ९ रोपनी जग्गामा गोठ व्यवस्थापन गरेको छ भने घाँसका लागि अरु २४ रोपनी जग्गा ओगटेको उपाध्यक्ष बगालेले बताउनुभयो । कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष कमल सुवेदीले नगरपालिकाकै नमूना फर्म बन्ने विश्वास व्यक्त गर्नुभयो ।

वालिङ नगरीकै मध्ये भागमा रहेको फर्मलाई कृषि गन्तव्यकारुपमा विकास गर्न आफ्नो पूर्ण साथ रहनेसमेत अध्यक्ष सुवेदीले व्यक्त गर्नुभयो । समूहले उन्नत गाईभैंसी पालन, आधुनिक गोठ निर्माण, आधुनिक औजार तथा मेसिन, आवस्यक उपकरण खरिद, खाद्यान्न गोदाम घर निर्माण, बायोग्याँस प्लान्ट निर्माण लगायतका कार्यहरु उपआयोजना अन्तर्गत गरिने आयोजकले जनाएको छ । भैंसीपालनसँगै गेदिखोला गाउँलाई स्मार्ट भिलेजकारुपमा समेत विकास गर्ने उनिहरुको उद्देश्य रहेको छ । भैंसी र गाई गरी सयवटा सम्म पाल्ने उनिहरुको लक्ष्य छ ।