कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । विगतमा निर्वाहमुखी कृषि गर्दै आएका कृषकहरूले अहिले पशुपालनलाई नै आमदानीको मुख्य स्रोत बनाएर गाईभैँसी तथा बाख्रापालन शुरु गरेपछि व्यावसायिकता विकास भएको हो । गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा पहिलो स्थानमा छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेरै राम्रो आम्दानी गर्दै आएका छन् । संघ, प्रदेश तथा स्थानीय सरकारले व्यावसायिक कृषकका लागि अनुदान सहयोगलगायतका कार्यक्रम ल्याएपछि कृषकहरू उत्पादनमार्फत् आयआर्जनमा प्रेरित भएका हुन् ।

गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध विक्रीका आधारमा कृषकलाई प्रतिलिटर दुई रुपैयाँ पचास पैसा अनुदान दिँदै आएको छ । यसैगरी कृषि तथा पशु बीमा निःशुल्क गरिएको छ । संघ सरकारले बीमामा ७५ प्रतिशत अनुदान दिएकामा प्रदेश सरकारले २५ प्रतिशत थप गरेर निःशुल्क गरिएको हो ।

यसैगरी गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि वृद्धि गरेर ५० पैसा अनुदान दिने भएको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । पशु शाखा प्रमुख पौडेलले भने, ‘हाम्रो गाउँपालिका दूधको ‘हब’ बन्दै गएको छ । गाउँपालिकाको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन् । अन्य वडामा समेत दैनिक उत्पादन बढिरहेको छ । सहकारीबाट दूध विक्री गर्ने कृषकहरु बढी छन् ।’ नौ ओटा वडा रहेको गाउँपालिकाको लाहाचोक, घाचोक र धितालबाट अन्य वडाबाट भन्दा बढी दूध उत्पादन हुने गर्दछ । रासस