ललितपुर। अझै केही दिन मनसुन बाहिरिने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

अहिलेको अवस्थालाई हेर्दा मनसुन तत्काल बाहिरिने सम्भावना नरहेको विभागका मौसमविद् गङ्गा नगरकोटीले बताइन् । उनका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ तथा बङ्गालको खाडीबाट जलवाष्फयुक्त हावा आउनेक्रम राकिनुपर्छ । उनले अहिले त्यस्तै अवस्था नरहेकाले तत्काल मनसुन बाहिने सम्भावना नरहेको बताइन् ।

यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यसपालीदेखि मनसुनको अवधि परिमार्जन गरिएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने गरेको थियो । यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर दुईमा मनसुन बाहिरिने मिति तोकिएको छ ।

यसपाली नेपालमा मनसुन औसत समयभन्दा दुई दिन अगाडि भित्रिएको थियो । मौसमविद्का अनुसार हरेक १०–१० वर्षमा मनसुन भित्रने र बाहिरिने समय परिमार्जन गरिन्छ । शनिवार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ३ डिग्री र अधिकतम तापक्रम ३० दशमलव ५ डिग्री सेल्सियस रहेको छ । रासस