ओखलढुङ्गा। यहाँ चिराइतो प्रशोधन केन्द्र अलपत्र परेको छ ।

कृषि उद्यम केन्द्र र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त साझेदारीमा सञ्चालन गरिएको ‘एक जिल्ला, एक उत्पादन कार्यक्रम’ अन्तर्गत सिद्धिचरण नगरपालिका–११ मा स्थापना गरिएको चिराइतो प्रशोधन केन्द्र अलपत्र परेको हो ।

चार वर्षअघि चार रोपनी क्षेत्रफलमा भवनसहितका संरचना बनाइएको भए पनि अहिलेसम्म केन्द्र सञ्चालनमा आउन सकेको छैन । कृषि विकास मन्त्रालयले ‘एक जिल्ला, एक उत्पादन’ कार्यक्रमअन्तर्गत चिराइतो ड्राइङ एण्ड कन्स्ट्रक्सनका लागि कृषि उद्यम केन्द्रलाई आर्थिक वर्ष २०७२/ ७३ मा १ करोड ४६ लाख रुपैयाँ अनुदान दिएको थियो ।

उद्योग वाणिज्य सङ्घको नेतृत्वमा रहेको ओखलढुङ्गा जडीबुटी प्रोडक्ट्स प्रालिले प्रशोधन केन्द्र सञ्चालन गर्ने जिम्मा लिएको थियो । केन्द्रको भवन निर्माण बाहेक अरु काम भएका छैनन् । केन्द्रबाट प्राप्त अनुदानमध्ये ५५ लाख रुपैयाँको भवन निर्माण गरिएको र अन्य रकमले केही मेसिन औजार खरीद गरिएको उद्योेग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए ।

मेसिन प्रशोधन गर्ने हुनुपर्नेमा प्याकिङ गर्ने मात्रै खरीद भएकाले केन्द्र सञ्चालनमा आउन नसकेको उनको भनाइ छ । तत्काल केन्द्रको अनुदान नपाए पनि जिल्लामै लगानी जुटाएर प्रशोधन मेसिन ल्याएर केन्द्र सञ्चालन गर्ने लक्ष्य राखिएको उनले बताए । ५५ लाख रुपैयाँमा भवन र ९५ लाख रुपैयाँमा मेसिन, जेनेरेटरसहितका उपकरण खरीद गरिएको उनले बताए ।

चिराइतो थन्कियो :

चिराइतो प्रशोधन केन्द्र स्थापना भएपछि जिल्लाका किसानले चिराइतोखेती गर्न थालेका थिए । रावादोलु, भुसिङ्गा, खिजीकाती, फलाटे, रगनी, जन्तरखानी, पात्लेसहितका स्थानमा चिराइतो पाइन्छ । जिल्लामै प्रशोधन केन्द्र बन्ने र चिराइतोले बजार पाउने आशामा खेती थालेका किसान प्रशोधन केन्द्र सञ्चालनमा नआएपछि निरास भएका छन् । संकलन गरेको चिराइतो बोरामा बाँधेर राख्नुपरेको खिजीदेम्बाकी केवलमाया सुनुवारले बताए । ‘एक जिल्ला, एक उत्पादन कार्यक्रम’अन्तर्गत दुई आर्थिक वर्षमा २ हजार ५०० रोपनी क्षेत्रफलमा चिराइतो रोप्ने लक्ष्य थियो । प्रशोधन केन्द्र नै अलपत्र परेपछि त्यो लक्ष्य अनुसार काम शुरु नै भएको छैन ।

स्थानीय सरकार बेखबर :

जिल्लामा सञ्चालन हुने भनिएको चिराइतो प्रशोधन केन्द्रका बारेमा सर्वसाधारण नागरिक मात्रै होइन स्थानीय सरकार पनि बेखबर छ । प्रशोधन केन्द्रको भवन बाहिरबाट देखेको बाहेक त्यस विषयमा आफूहरुलाई जानकारी नभएको सिद्धिचरण नगरपालिका– ११ का वडाध्यक्ष विनोद केसीले बताए। रासस