
तनहुँ । यसवर्ष चार कृषि उपज र आलु संकलन केन्द्रको भवन निर्माण गरिएको छ । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजको सुरक्षित भण्डारण र बजारीकरण गर्ने उद्देयले संकलन केन्द्र स्थापना गरिएको हो । कृषि ज्ञान केन्द्रको सहयोगमा तीन र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत एक कृषि उपज संकलन केन्द्र निर्माण गरिएको हो । दुई कृषि उपज र दुई आलु सकंलन तथा भण्डारणका लागि भवन निर्माण गरिएको हो ।
कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी नगरपालिका–४ बास्कुनामा कृषि उपज, रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी र वडा नं.८ घ्याँसीखर्कमा आलु संकलन केन्द्रको भवन निर्माण गरिएको कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले बताए । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा पूर्वाधार विकास कार्यालयको सहयोगमा कृषिउपज सकंलन केन्द्रको भवन निर्माण गरिएको हो ।
“गाउँका किसानले थोरै थोरै मात्रामा उत्पादन गरेका कृषि उपज केन्द्रमा सकंलन गरेर बजार पठाउन सहयोग पुगोस् भनेर सकंलन केन्द्र बनाएका हौं”, कृषिप्रसार अधिकृत पाण्डेले भने, “आलुको बीउलाई सुरक्षित रुपमा भण्डारण गरेर गुणस्तरीय बनाउन बीउ भण्डारण केन्द्रले सहयोग पुग्छ ।”
सुन्तला, दूध र तरकारी खेतीको पकेटक्षेत्र बास्कुनामा कृषि उपज संकलन निर्माणका लागि केन्द्रले रु सात लाख ७४ हजार अनुदान सहयोग गरेको थियो । दुई कोठे भवनमा तरकारी तथा दूध सकंलन गरेर बजार पठाउने र बजारबाट ल्याइने बीउ, मल भण्डारण गरेर राख्ने गरिएको बास्कुना कृषि सहकारी संस्थाका अध्यक्ष तिलक गुरुङले बताए ।
यसैगरी आलु पकेट क्षेत्र ठाडाखानीमा दुई कोठे आलु बीउ सकंलन र भण्डारण भवन बनाउन केन्द्रले पाँच लाख ९९ हजार ४ सय सहयोग गरेको छ । करिब दश हजार किलो आलुको बीउ भण्डारण गर्न सकिने दुई कोठे भवन बनाइएको ठाडाखानीको भिरकुना किसान समूहका अध्यक्ष भमाया बुढाथोकीले बताए ।
झिङ्खानी व्यवसायिक कृषि उपज उत्पादन केन्द् (ब्लक)आयोजना सञ्चालक समितिले घ्याँसी खर्कमा १४ मिटर लम्बाइ र छ मिटर चौडाइ भएको आलु संकलन केन्द्रको भवन बनाएको छ । आठ लाखको लगानीमा निर्माण गरिएको भवनमा स्थानीय किसानले उत्पादन गरेको आलु संकलन गरेर बजार पठाउने व्यवस्था मिलाइने समितिले जनाएको छ ।
यसैगरी तरकारी र आलुको पकेटक्षेत्र मानिएको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु दश लाख सहयोगमा कृषि उपज संकलन केन्द्रको भवन निर्माण गरिएको छ । मनिबराह बहुउद्देश्यीय किसान समूहका अध्यक्ष लोकबहादुर पूर्जाले दुई तले भवन निर्माण गरिएको जानकारी दिए ।रासस