
म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार गरिएको छ ।
स्थानीय हिमाली कृषि सहकारीअन्तर्गत रहेको कृषक समूहले गतवर्षदेखि सामूहिकरूपमा जडीबुटीको खेती सुरुआत गरेका थियो । समूहले यसवर्ष करीब दुई रोपनी जग्गामा अतिसको खेती विस्तार गरेको जानकारी दिएको छ ।
समूहका अध्यक्ष गोर्खा छन्त्यालले बजारमा जडीबुटीका रूपमा अतिसको माग उच्च रहेकोले व्यावसायिक खेती गरिएको बताए । अतिसलाई पेटमा पर्ने जुका मार्न र शक्तिवद्र्धक औषधिका रूपमा समेत प्रयोग गर्ने गरिन्छ ।
यो स्थान समुन्द्री सतहदेखि रू. दुई हजार ७०० मिटर उचाइमा रहेको छ । हिमाली कृषक समूहले स्थानीय टिउथिबा सामुदायिक वनको साढे दुई हेक्टर पाखो जग्गा भाडामा लिएर जडीबुटी खेती थालेको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
उनका अनुसार खेर गएको जग्गालाई उपयोग गरी स्थानीयवासीको आयआर्जन वृद्धि गर्ने र रोजगार सिर्जना गर्ने उद्देश्यले जडीबुटी खेतीलाई प्राथमिकता दिइएको छ । ‘यहाँ जडीबुटीको प्रशस्त सम्भावना छ, सम्भावनको उजागरमा हामीले जोड दिएका छौँ, जडीबुटी खेतीबाट निकट भविष्यमा प्रतिफल आउने हाम्रो अपेक्षा छ’, उनले भने ।
यस समूहले हालै उच्च घनत्वमा हुने स्याउको खेतीसमेत शुरु गरेको छ । माटो परीक्षणलगायतको सम्भावना अध्ययन गरी यस वर्ष ७०० स्याउ, सात हजार बिसजरा र सतुवाका बिरुवा रोपण गरिइएको छ । रासस