विराटनगर। प्रदेश नं १ मा कृषकलाई चाहिने रासायनिक मलको अभाव नरहेको सम्बन्धित कार्यालयले जनाएको छ । लगभग रोपाईं सकिएको यो प्रदेशमा अझै पनि रासायनिक मल युरिया, डिएपी र पोटास मौज्दातमा रहेको बताइएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय विराटनगरमा अझै युरिया पाँच हजार पाँच सय ६ मेट्रिक टन, डिएपी ६ सय ४६ मेट्रिक टन र पोटास ७२ मेट्रिक टन मौज्दातमा रहेको कार्यालयका प्रमुख नवरत्न गौतमले जानकारी दिनुभयो । उहाँले यस कार्यालयमा केही दिनभित्रै थप युरिया एक हजार पाँच सय मेट्रिक टन आउने भएकाले किसानलाई वर्षे धान बालीका लागि चाहिने मलको अभाव नरहने बताउनुभयो ।

गएको वर्षमा रासायनिक मल ५१ हजार दई सय मेट्रिक टनमा मातहतका कार्यालयमा २८ हजार नौ सय ५४ मेट्रिक टन पठाएको र कार्यालयले आफैँ १२ हजार नौ सय १६ मेट्रिक टन बिक्री गरी असारसम्ममा नौ हजार सात सय ७७ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको थियो ।

युरिया अहिले ५० केजीको प्रति बोरा सात सय ५० रुपैयाँ र डिएपी दुई हजार दुई सय रुपैयाँमा बिक्री भएको बताइएको छ । साल्ट ट्रेडिङ कम्पनी विराटनगरमा युरिया १८ हजार पाँच सय ६२ बोरा, डिएपी १५ हजार दुई सय ६ बोरा र पोटास एक हजार नौ सय ६४ बोरा मौज्दात रहेको कार्यालय प्रमुख राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

कार्यालयले यस वर्ष युरिया २३ हजार सात सय ४७ बोरा, डिएपी १३ हजार चार सय ७० बोरा र पोटास एक हजार ६ सय बोरा वितरण गरेको छ भने चालू आवको साउनदेखि अहिलेसम्म वितरण गरेको रासायनिक मलको विवरण भने निकाल्न नपाएको प्रमुख चौधरीले जानकारी दिनुभयो ।रासस