खलङ्गा। जुम्लाको तिला गाउँपालिकामा ‘सिमी सुपर जोन कार्यक्रम’ सञ्चालन गर्न सिफारिस गरिएको छ । जिल्ला समन्वय समिति, परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ सुपरजोन परियोजना कार्यक्रम अन्तर्गत सो प्रस्ताव गरेको हो ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाका अध्यक्षतामा बसेको बैठकले कृषि प्राविधिकको प्रतिवेदन अनुसार सो गाउँपालिकालाई छनोट गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले स्याउ जोन लागू हुनबाँकी पातारासी गाउँपालिका–१,२ ३ र गुठिचौरको १ र २ मा स्याउ सुपरजोन कार्यक्रम लागू गर्ने निर्णयसमेत गरिएको परियोजना इकाइ कार्यालयले जनाएको छ ।

सो परियोजना यसअघि चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका अन्य वडामा काम भइरहेको स्याउ सुपरजोन कार्यालयका प्रमुख गङ्गा पोख्रेलले जानकारी दिए ।

यस अघि सुपरजोनले सिञ्जा क्षेत्रमा स्याउ सुपरजोनमा काम गर्न सिफारिस गरिको थियो । थोरै जनशक्तिले सुपरजोनमा काम भइरहेको र स्थानीयवासी तथा सम्बन्धित सरोकारवाला कार्यालयमार्फत काम गर्न आवश्यक रहेको जनाइएको छ । सिफारिस गरिएका कार्यक्रम स्वीकृत भने केन्द्रले गर्ने कार्यालयको भनाइ छ ।

बैठकमा जिसस उपप्रमुख बुढाले कृषि क्षेत्रमा अब्बल बनाउन सुपरजोन कार्यक्रम प्रभावकारी हुँदै आएकाले तिला गाउँपालिका दलहन जोनका लागि सिफारिस भएकामा थप राम्रो भएको बताए ।

लामो समयदेखि क्षेत्र (क) मा काम गरिरहेको सुपरजोनले पछिल्लो समय वृहत चक्लाबन्दी बगैँचा घेरवार सिँचाइ, स्याउ कार्टन उपलब्ध गराउने काम गर्दै आएको छ ।

क्षेत्र नम्बर (ख) मा भने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा माग हुँदै आएको छ । क्षेत्र (ख) अन्तर्गत हिमा, सिञ्जा, कनकासुन्दरी र तिला गाउँपालिका पर्दछन् ।

जिल्ला परियोजना समितिले तिलामा सिमी जोन र अन्य तीन गाउँपालिकामा स्याउ कार्यक्रमका लागि सिफारिस गरेको छ । रासस