स्याङ्जा। स्याङ्जाको गल्याङ नगरपालिका २ इलुङ्गाकी टीकाकुमारीले सबैभन्दा धेरै अनुदान प्राप्त गर्नुभएको छ । नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी व्यवसायिक किसानहरुलाई अनुदान वितरण गर्नेक्रममा रानाले २ लाख ८२ हजार ८ सय प्राप्त गर्नुभएको हो । योसँगै धेरै काममा पुरुषहरु सक्षम हुन्छन् भन्ने सोंचलाई रानाको सफलताले बलियो चुनौति दिएको छ । गल्याङ नगरपालिकाले प्रोत्साहन रुवरुप प्रदान गर्दै आएको अनुदानमा टीकाकुमारीले ८३ जना व्यवसायिक किसानहरुमध्ये सबैभन्दा धेरै प्राप्त गर्नुभएको हो । रानाले दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान वापत छ महिनामा दुई लाख ४० हजार आठ सय ५९ रुपैयाँ ४० पैसा पाउनुभएको हो । साथै रानाले गाई पकेट लागत साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा गाई खरिद गरे वापत थप ४२ हजार रुपैयाँ समेत प्राप्त गर्नुभएको छ ।
नगरपालिकाले रानासँगै व्यवसायिक किसानहरुलाई १९ लाख ५ सय ७५ अनुदान प्रदान गरेको छ । व्यवसायिकरुपमा पशुपालन गर्दै आएका ८३ जना किसानहरुलाई नगरपालिकाले बुधबार अनुदान प्रदान गरेको हो । नगरपालिकालाई सेतो शहरकोरुपमा विकास गर्ने र नगरवासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले पशुपालन गर्ने कृषकहरुलाई अनुदान प्रदान गर्दै आएको हो ।

कार्यक्रममा बटुवा दुग्ध उत्पादन संकलन केन्द्रमा दूध संकलन गर्ने ६६ जना किसानलाई उत्पादनको आधारमा प्रतिलिटर १५ रुपैयाँका दरले ११ लाख ८६ हजार पाँच सय ७५ रुपैयाँ वितरण गरिएको छ ।यसैक्रममा गाई पकेट लागत साझेदारी कार्यक्रम अन्तर्गत १७ जना कृषकहरुलाई जनही ७२ हजार रुपैयाँका दरले जम्मा सात लाख १४ हजार रुपैयाँ वितरण गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख प्रमुख भुपराज अधिकारीले गल्याङका किसानहरु क्रमिकरुपमा आत्मनिर्भर बन्दै गएको बताउनुभयो । नगरप्रमुख अधिकारीले अनुदानको व्यवस्थाले किसानहरुलाई उत्साहित बनाएको हुँदा पूर्ण रुपमा आत्मनिर्भर नबन्दासम्म अनुदानको कार्यक्रम यथावत रहने उल्लेख गर्नुभयो ।’

बाटो खन्नु मात्रै विकास नभएको भन्दै उहाँले सन्तुलित विकासको अवधारणा अन्तर्गत जनजीविकामा परिवर्तन ल्याउने कुरामा सबैले जोड गर्नुपर्ने बताउनुभयो । नगरप्रमुख अधिकारीले गल्याङमा उत्पादन भएको कृषि उपजको विक्रीको ग्यारेण्टी नगरपालिकाले लिएको पनि दोहो¥याउनुभयो । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले गल्याङमा जस्तो अनुदानको व्यवस्था नेपालमा नै नभएको भन्दै त्यसको सदुपयोग गर्न किसानहरुलाई आग्रह गर्नुभयो । उहाँले अनुदानमा मात्रै भर पर्नु भन्दा पनि आत्मनिर्भर बन्ने योजनामा लाग्न सुझाब दिनुभयो ।

कार्यक्रममा बटुवा दुग्ध संकलन केन्द्रका अध्यक्ष एवम् कार्यक्रमका सभापति भिम भण्डारीले प्रतिलिटर १५ रुपैयाँ, लागत साझेदारी र व्याजमा अनुदान गरी आफ्नो संस्थाले झण्डै ३० लाख रुपैयाँ अनुदान प्राप्त गरेको जानकारी दिनुभयो ।