
मुस्ताङ। च्यांग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ ।
नेपाली पस्मिना उद्योगीहरुले मुस्ताङको दामोदरकुण्ड लोघेकर गाउँपालिकाको चराङमा च्यांग्राको भुवा संकलन केन्द्र स्थापना गरेपछि ऊनले बजार पाउने सुनिश्चित भएको हो ।
खेर गइरहेको च्यांग्राको ऊनको सदुपयोग हुने, कृषकले आम्दानी लिने र पस्मिनाको कच्चापदार्थ आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल पस्मिना उद्योग संघले स्वदेशी कच्चापदार्थ (ऊन प्रशोधन) गरेर पस्मिना बनाउने धागो उत्पादन गर्न चराङमा भुवा (ऊन) संकलन केन्द्र स्थापना गरेको जानकारी दिएको छ । संघका अध्यक्ष धनप्रसाद लामिछानेले मङ्गोलिया र चीनबाट ल्याउने कच्चापदार्थको विकल्पमा नेपालकै भुवा प्रशोधन गरेर धागो उत्पादन गर्न लागिएको जानकारी दिए ।
‘स्वदेशी ऊन प्रशोधन गर्न काठमाडौँमा नेपाल फाइबर प्रोसेसिङ उद्योग खोलेका छौँ’, उनले भने, ‘पहिलो पटक मुस्ताङमा संकलन केन्द्र खोलेर रू. ९० लाख मूल्य बराबरको दुई हजार किलोग्राम ऊन खरीद गरिसकेका छौं।’
लामिछानेको नेतृत्वमा संघका उत्सव खनाल, बिजु शाक्य, भीम शेरचन र इन्जिनीयर विवेकानन्द मिश्रको टोली दामोदरकुण्ड लोघेकर तथा लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि र च्यांग्रापालक कृषकहरुसँग अन्तरक्रियाका साथै भुवाको सम्भाव्यता अध्ययन गरेर मंगलवार काठमाडौं फर्किएको हो ।
मनाङमा भुवाको सम्भाव्यता अध्ययनका लागि प्रतिनिधि पठाएको संघले लगत्तै डोल्पा, मुगु, हुम्लालगायत जिल्लामा जाने जानकारी दिएको छ । नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्यांग्राको ऊन प्रशोधन गरेर बनाएको धागो कच्चापदार्थका रूपमा प्रयोग हुन्छ ।
नेपालबाट वार्षिक रू. तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । पस्मिना उद्योगीसमेत रहेका इन्जिनीयर मिश्रले मुस्ताङको भुवा प्रशोधन गर्न सकेमा ३० प्रतिशत भुवाको धागो आयात घटाउन सकिने बताए ।
बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले ऊन निकाल्ने गरेका छैनन् । शरीरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशत ऊन संकलन गरे पनि बजार नपाउने समस्या थियो । तिब्बती सीमा कोरला नाकामा अन्तरदेशीय व्यापार मेला हुँदा चिनियाँ व्यापारीले सामानसँग ऊन सटही गरेर लैजान्थे ।
कोरोनाका कारणले पछिल्लो दुई वर्षयता व्यापार मेला नहुँदा करोडौँ मूल्यको ऊन विक्री हुन सकेको थिएन । लोमान्थाङका ट्यासी बिष्टले खेर गइरहेको ऊनले उचित मूल्य र बजार पाएकामा खुसी व्यक्त गरे । लोमान्थाङका कृषकहरुको ऊन बजारीकरण गर्न त्यहाँ अर्को संकलन केन्द्र बनाउने तयारी भएको छ । कृषकले केन्द्रमा ल्याउने ऊन संकलन गरेर संघले खरीद गरी काठमाडौं लैजाने सम्झौता भएको छ ।
प्रतिकिलो अप्रशोधित ऊन सरदर रू। चार हजार ५०० मा खरीद गर्ने संघले जानकारी दिएको छ । वैशाख–जेठ महीना च्यांग्राको शरीरबाट ऊन निकाल्ने याम हो । मासुका लागि प्रसिद्ध हिमाली च्यांग्राको छाला र मल पनि विक्री हुन्छ ।
च्यांग्राको ऊन पस्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो । भेडा र चौँरीको तुलनामा च्यांग्राको ऊनलाई गुणस्तरीय मानिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायत ठाउँका कृषकहरुले व्यावसायिक च्यांग्रापालन गरेका छन् । रासस