कञ्चनपुर। पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक यहाँ देखापरेको छ । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका किसानले पालेका गाई र गोरुमा सो रोग देखापरेको हो ।

पशुको शरीरभरि ठूल्ठूला गिर्खासँगै घाउ देखिन थालेकाले स्थानीय किसानले नगरपालिकाको पशु शाखामा खबर गरेपछि जाँच गर्दा जिल्लामै पहिलोपटक सो रोग फैलिएको देखिएको शाखा प्रमुख रामप्रसाद भट्टले बताए।

‘यस्तोे संक्तमण अन्य पशुमा फैलिन नदिनका लागि सावधानी अपनाउन किसानलाई सचेत गराएका छौँ । रोग देखापरेका गाई र गोरुलाई अलग्गै राखी सरसफाइ गर्न र आवश्यक औषधि प्रयोग गर्न भनेका छौँ ।’ उनको भनाइ थियो ।

छ किसानका दुई दर्जन भन्दबढी पशु एक साता अघिदेखि सो रोगबाट सताइएकामा बाच्छाबाच्छीमा समेत संक्रमण देखापरेको छ । स्थानीय किसानका अनुसार संक्रमित गाई र गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने र नाकबाट सिङ्गान बग्नेलगायत लक्षण देखिएका छन् । रोग लागेका दुधालु गाईले ह्वात्तै दूध घटाएको छ ।

भारतीय व्यापारीले गाई र गोरु खरिद गरी भारततर्फ लैजाने र त्यहाँबाट यहाँ ल्याउने गरेकाले भारतबाटै रोग फैलिएको हुनसक्ने अनुमान गरिएको स्थानीय किसान वीरसिंह महराले बताए ।

‘रोग निराकरणका लागि गाई–गोरुको ओसारपसार र बेचबिखन रोक्नु जरुरी छ’, पशु शाखा अधिकृत भट्टले भने, ‘संक्रमित गाई र गोरुलाई चराउन लैजाने कार्य बन्द नहुँदासम्म सङ्क्रमण रोक्न कठिन भएकाले त्यस्ता पशुलाई घरमै बाँध्न आग्रह गरेका छौँ ।’

रोगलाई महामारीका रूपमा फैलिन नदिन किसानलाई सतर्क गराइएको उनले बताए ।