कञ्चनपुर। वेदकोट नगरपालिका–१० दैजी बेलडाँडी सडकखण्डबाट प्रहरीले बिहीबार साँझ अवैधरूपमा मिनी ट्रकमा ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद गरेको छ । चोरी पैठारी गरी ट्रकमा चिनी ओसारपसार भइरहेको सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले चिनीसहितको ट्रक बरामद गरेको हो । सुपप्र ०१००१ क १९०१ नंको ट्रकमा अवैधरूपमा ल्याइएको ९८ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

उनका अनुसार बरामद चिनीको मूल्य तीन लाख १८ हजार ५ सय र नियन्त्रणमा लिइएको टाटा मिनी ट्रकको मूल्य छ लाख ८१ हजार गरी जम्मा नौ लाख ९९ हजार ५ सय रहेको छ । चिनीसहितको मिनी ट्रक र चालक भरत विष्टलाई कानूनबमोजिम आवश्यक कारवाहीका लागि गड्डाचौकी चौकी भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैबीच प्रहरीले आज भीमदत्त नगरपालिका–१ भासीस्थित बिक्की गुप्ताले भारतबाट भन्सार छलेर ल्याएको ४२ क्विन्टल चिनीसमेत बरामद गरेको छ । गुप्ताको गोदाममा छापा मारी प्रहरीले दुई लाख ७३ हजार मूल्य बराबरको चिनी बरामद गरेको हो । बरामद चिनीसहित गुप्तालाई नियन्त्रणमा लिई भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।