सिरहा। सिरहामा आर्थिक वर्ष २०७७/७८ मा एक हजार ९१३ नयाँ उद्योग दर्ता भएका छन् ।

नयाँ दर्ता भएका एक हजार ९१३ मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार १२२, सेवा उद्योगतर्फ ६०५ र उत्पादन उद्योगतर्फ १८६ रहेको घरेलु तथा साना उद्योग कार्यालयले जानकारी दिएको छ ।

कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग एक हजार १८, पशुपालनका ५४ तथा कुखुरा पालनका १७ नयाँ उद्योग दर्ता भएका छन् । सेवा उद्योगतर्फ कुटानी पिसानीका ११५, होटेल ११०, निर्माणका ९४, मोटरसाइकल मर्मतका ४५ र ढुवानीका ३५ उद्योग दत्र्ता भएका छन् । यो संख्या गत आव २०७६/७७ को भन्दा बढी हो ।

आव ०७६/७७ मा सेवा उद्योगतर्फ ५३०, कृषि तथा वन्यजन्यतर्फ ४९० र उत्पादन उद्योगतर्फ १२७ गरी एक हजार १४७ नयाँ उद्योग दर्ता भएका थिए ।

यो सँगै सिरहामा उत्पादन उद्योग एक हजार ६१२, कृषि तथा वनजन्य उद्योग दुई हजार ७७० र सेवा उद्योग चार हजार २३८ गरी घरेलु तथा साना उद्योगको संख्या आठ हजार ४७० पुगेको कार्यालयका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए ।

नयाँ उद्योग दर्ताबाट रू. एक करोड ८६ लाख ६६ हजार ३०० राजस्व संकलन भएको जानकारी दिइएको छ ।

बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहज रुपले ऋण लगानी गर्न थालेकाले कृषि तथा वनजन्य उद्योग खुल्ने क्रम बढेसँगै उद्योग दर्ता गराउनेको संख्या वृद्धि भएको प्रमुख यादवको भनाइ छ ।

यस्तै आव २०७७/७८ मा उद्योगतर्फ ६४ र वाणिज्यतर्फ १५५ घरेलु तथा साना उद्योगको लगत कट्टा गरिएको जानकारी दिइएको छ । रासस