ललितपुर। दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ लाई कृषि तथा पशुपक्षी वर्षका रुपमा मनाउने योजना अघि सारेको छ ।
‘कृषि, पर्यटन, संस्कृति, वातावरण र पूर्वाधारः सुशासन्युक्त, सभ्य र समृद्ध कोञ्ज्योसोमको आधार’ भन्ने नारालाई आत्मसात् गर्दै बिहीबार अध्यक्ष गोपीलाल सिङ्तानले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाई स्वदेश फर्किएका युवाहरुलाई लक्षित गरी कृषि र पशुपालनको क्षेत्रबाट स्वरोजगार बनाउने योजना अघि सारेको उनले बताए । गाउँपालिकाका विकासको प्रमुख आधार नै कृषि तथा पशुपक्षी उत्पादनमा जोड रहेकाले यसलाई आधुनिकीकरण तथा व्यवसायी र बजारीकरण गर्न कृषि कर्ममा रु. ३५ लाख र पशु विकासमा रु. ६० लाख बजेट विनियोजन गरेको योजना सार्वजनिक गरिएको थियो ।
यसैगरी गाउँपालिकाले कोरोनाका कारण मृत्युवरण गरेकाका परिवारलाई कोष खडा गरी प्रतिपरिवार रु. १० हजारसमेत सहयोग गर्ने नीति अघि सरेको छ । ठोस्नेखोला बेली ब्रिज र छ्योर्देन गुम्बा निर्माण, मबिर गुर्दुमथुम दलचोकी लिफ्टिङ खानेपानी र भेडेखर्क डोल फूलबारीडाँडा खानेपानी आयोजनामा समेत जोड दिने भएको छ ।
शङ्खुमा तरकारी सङ्कलन केन्द्र र दलचोकी भोटडाँडा क्वाकलिङ र कतुवन भञ्ज्याङबाट शङ्ख जाने सडक निर्माण गर्नाका साथै लामदुवाली झोपु तिप्चेखोला दोभान र श्री कृष्णप्रणामी मन्दिर जस्ता योजनाहरुका लागि गाउँपालिकाले पर्याप्त बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाका खाली जमीनहरुमा वृक्षरोपण गरिनाका साथै गाउँपालिकाका सामुदायिक वनलाई व्यवस्थित गर्न जडीबुटीलगायत आयआर्जनका विविध कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपाध्यक्ष मिङ्मा लामाले रु ३३ करोड ३० लाख ७७ हजारको बजेट प्रस्तुत गरेका थिए ।