बुटवल। मंगलबार लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकता दिइएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारले स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको बताए ।
प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवले प्रदेश सरकारले ल्याएको भूमि बैंक स्थापना गर्ने, राजमार्ग केन्द्रीत कृषि खेती, तथा कृषि कोसेली घर स्थापनाको कामलाई यो बर्ष अगाडी बढाउने गरी नीति तथा कार्यक्रम ल्याइएको जानकारी दिए ।
कृषिमा लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम :
कृषितर्फ ‘म किसान, प्रदेशको शान’ भन्ने नारासहित कृषक सम्मान, ‘गुईठा रहितको भान्छाघर, गोबर ग्याँसमा परौं भर’ भन्ने नारासाथ गुईठा बाल्ने प्रवृतिलाई निरुत्साहन गर्न स्थानीय तहसंगको सहकार्य र समन्वयमा गोठ तथा भकारो सुधार, गौशाला निर्माण, गोबर ग्याँस निर्माण गरिने कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख छ ।
एक जिल्ला, एक निर्यात हुने बाली पहिचान, एक स्थानीय तहः एक बिउ स्रोत केन्द्र तथा नश्ल संरक्षण केन्द्र स्थापनाले गतबर्ष जस्तै यस बर्ष पनि निरन्तरता पाएको छ ।
प्रदेशमा शीत भण्डार, बाली तथा वस्तु विशेषका थप प्रयोगशालाहरूको स्थापना, ‘महिला किसान सहकारी, बनाउँ गाउँघर खुसीयाली’ नाराका साथ महिला लक्षित सहकारी कार्यक्रम पनि नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको छ ।स्वदेशमा नै रोजगारीका अवसरहरू सिर्जना गर्न कृषिमा सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।
कृषिमा युवा विशेष कार्यक्रम, करार खेती, कृषि कर्मी रोजगारी कार्यक्रम, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अगाडि सारिएको प्रदेश प्रमुख यादवले बताए । उनले कृषिको व्यवसायिक उत्पादन बढाउन स्थानीय तहमा स्थापना हुने भूमि बैंक मार्फत जग्गा उपयोग गर्न चाहने व्यक्तिलाई प्रोत्साहन गरी सुविधा दिने बताए । भूमि, पुँजी र प्रविधिको संयोजनमार्फत कृषि भूमिको सदुपयोग गरेमा उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने उनको भनाइ छ ।