ललितपुर। लामो समयदेखिको खडेरीका कारण बझाङका विभिन्न ठाउँमा लगाइएको हिँउदे बालीको उत्पादनमा कमी आएको छ । सेती, कालङ्गा, बहुलीगाड, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र सिँचाइको सुविधा भएका सीमित क्षेत्र आकासेपानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा कमी आएको छ ।
लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौ, उवा, केराउ, मसुरो लगायतका हिउँदे बालीको उत्पादनमा कमी आउँदा जिल्लामा चरम खाद्य सङ्कट हुने देखिएको छ । यस वर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जयपृथ्वी नगरपालिका१ का किसान अमृत शाहीले बताए । “हिँउदभरि पानी नपर्दा लगाएको बाली सुक्यो ।
सिँचाइ हुने ठाउँमा अलिअलि उम्रेको थियो त्यो पनि असिनाले चुटेर सखापै बनायो । एकातिर खडेरीले सुकायो अर्कातिर असिनाले नष्ट भयो’’, उनी भन्छन् ।
यस वर्ष आउनसक्ने खाद्य सङ्कटबाट भोकमरी हुन नदिन खडेरी पिडित किसानलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने सुदुरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकाया बताउँछन् । प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल राहतस्वरुप खाद्यान्न वितरण गर्नुपर्ने र वर्षे बालीका लागि बिउ तथा मल निःशुल्क उपलब्ध गराउनु पर्नेमा उनको जोड छ ।
आकासेपानीको भरमा खेती हुने क्षेत्रमा ९० प्रतिशत उत्पादन घटेको किसानहरु बताउँछन् । खडेरीका कारण जिल्लाभरि १५ हजार बढी हेक्टरमा गहुँ, जौ, केराउ, मसुरोलगायतका हिँउदेबाली लगाएकामा ६ हजार दुई सय हेक्टरमा उत्पादन शून्य रहेको र असिनाले नौ हजार तीन सय ३६ मेट्रिक टन हिउँदे बाली पूर्णरुपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए ।
जिल्लामा कूल खेतीयोग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ । सिँचाइ नभएको ठाउँमा लगाएको बाली सुकेर पूरै नष्ट भएको छ । जिल्लामा वार्षिक सरदर ३२ हजार मेट्रिक टन अन्न उत्पादन हुने गरेको छ । जनसंख्याको अनुपातमा सात हजार मेट्रिक टन अपुग हुने गर्दछ ।
खडेरीका कारण जिल्लाको कुल जनसङ्ख्याको ४५ प्रतिशत जनसङ्ख्या भोकमरीको चपेटामा पर्ने देखिन्छ भने १४ हजार घरधुरीलाई चरम खाद्य सङ्कट हुने विष्टले बताएका छन् । यसपालि खडेरीले उत्पादनमा कमी आउँदा १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने केन्द्रले जनाएको छ । रासस