भोजपुर। सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगले भोजपुरका सबै स्थानीय तहमा काम थालनी गरेको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लक्ष्य गरेर उनीहरूको लगत संकलनको काम शुरू भएको हो ।
जिल्लामा गठित आयोगको कार्यालयले अभियान नै सञ्चालन गरेर कामको थालनी गरेको छ । पहिलो चरणमा भूमिसम्बन्धी समस्यामा परेकाहरूको लगत संकलनको काम शुरू भएको आयोगले जनाएको छ ।
वडा तथा समुदायस्तरबाट आएका आवदेनका आधारमा उनीहरूको समस्या समाधानको काम शुरू हुने भूमिसम्बन्धी समस्या समाधान आयोग भोजपुरका अध्यक्ष देवीराम चौलागाईंले जानकारी दिए । अध्यक्ष चौलागाईंले भने, ‘आयोगको पहिलो चरणको काम शुरू भएको छ । अहिले सबै स्थानीय तहका तल्लोस्तरसम्म पुगेर लगत संकलन भइरहेको छ । लगत संकलनपश्चात स्थानीय तहबाट प्रमाणीकरण भएर आएका आवेदनका आधारमा हामीले जग्गाको व्यवस्थापनसँगै धनीपूर्जा वितरणको काम अघि बढाउँछौं ।’
जिल्लामा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलनको काम आगामी जेठ १० गतेभित्र सम्पन्न भइसक्ने आयोगले जनाएको छ । वडा कार्यालयले तथ्यांक संकलन गरेर गाउँपालिकामा पठाउने र स्थानीयले प्रमाणीकरण गरेर जिल्लामा रहेको आयोगको कार्यालयसम्म पठाएपछि जग्गा वितरणको काम शुरू हुनेछ । रासस