बाँके। थारै जमिनमा उच्च प्रतिफल दिने उच्चजात (हाइब्रिड)का मकैको बीउ जिल्लामा उत्पादन शुरुआत भएको छ । रामपुर–१० जातको बीउ उत्पादन शुरु भएको गेट नेपालले जानकारी दिएको छ ।

सो संस्थाका प्रमुख टिकाराम उपाध्यायले धेरै उत्पादन हुने रामपुर–१० जातको मकैका बीउ उत्पादन शुरु भएको बताए । धान, गहुँ, मकै, मुसुरो, मुङ र तरकारीखेतीमा काम गर्दै आएको सो संस्थाले यस वर्षदेखि मकैको हाइब्रिड बीउ उत्पादन गर्न थालेको हो ।

बीउ उत्पादनका लागि सिमिटरएनसाफको प्राविधिक सहयोग रहेको जानकारी दिइएको छ । जिल्लाको कोहलपुर र डुडुवा गाउँपालिका मकैको बीउ उत्पादन गर्न शुरु गरिएको हो ।

संस्थाका प्राविधिक तेज खड्काले चितवनस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमको समन्वय र सहकार्यमा नयाँ जातको बीउ उत्पादन गरिएको बताए । उनले भने ‘शुरुआती चरणको बीउ उत्पादनको नतिजा राम्रो निस्किएको छ । यही अनुभवका आधारमा बीउ उत्पादन विस्तार गर्छौ ।’

डुडुवा २ बेतहनी सन्तलियापुरका कृषक राजेन्द्रप्रसाद वर्माले हाइब्रिड रामपुर–१० मकैको उत्पादन राम्रो रहेको जानकारी दिए । उनले लगाएको मकैको अवलोकन गर्दै कृषि अनुसन्धान निर्देशनालय खजुराका प्रमुख अमर पुनले यो किसिमको अनुसन्धान नयाँ रहेको र लगानी र उत्पादन कस्तो देखिने हो भन्ने हेर्न बाँकी रहेको बताए ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले रामपुर जातको मकैको उत्पादन राम्रो हुने जानकारी दिए । उनले प्रदेश सरकारले उत्पादनमा आधारित कार्यक्रममा प्रति केजी रू। २५ अनुदान समेत दिएको बताए ।

बीउ विजन प्रयोगशाला खजुराका प्रमुख दिलीप सिंहले भारतीय हाइब्रिड मकै भन्दा बढी नै उत्पादन दिने जानकारी दिए ।

प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना मकै जोनका कफिल अहमदले किसानको माग हाइब्रिड रामपुर–१० मा अत्याधिक रहेको बताए । हाल मकै जोन अन्तर्गत १० हेक्टरमा सो जातका मकै प्रर्दशनका लागि लगाइएको उनले जानकारी दिए । रासस