ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले विभिन्न १४ वटा बालीका ३६ वटा उन्नत जात उन्मोचन गरी अनुमोदनका लागि पठाएको छ ।

नार्कले अनुसन्धान गरेका ती बाली अनुमोदन गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमार्फत राजपत्रमा प्रकाशन गर्नका लागि पठाएको हो । ती बालीका जात राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयमा आउनेछन् । १४ वटा बालीमध्ये धानका ५०५, एमपी ३०३०, एरिज ए जेठ ६६३३ एसटी, २७ पी २२ र आर एचआर १११ गरी ६ वटा जात उन्मोचन गरिएको छ ।

यस्तै मकैको मनकामना–९, गहुँका मुडुले १, कौटीला, तिला, सुर्मा, भेरीगंगा, हिमगंगा, खुमलशक्ति, जिङ्क गहुँ–१, जिङ्क गहुँ २, र बोर्लोग २०२० गरी १० वटा जात उन्मोचन गरिएको छ । यस्तै फापरको तीते फापर–१ र तीतेफापर–२ गरी दुई वटा जात उन्मोचन भएका छन् । यस्तै कोदोको रातो कोदो, उखुको जीतपुर–५ जीतपुर–६ र जीतपुर ७ उन्मोचन गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

लट्टेको लाल मार्से, चिनोको दुधे चिनो, कागुनोको बरियो कागुनो, गोलभेडाको खुमल श्रेष्ठ र खुमल गौतम जात उन्मोचन गरिएको छ । मनकामना रायो, पहिलो सिमी, खैरो घिउ सिमी, र अलैंचीका रामसाई, गोलसाई डम्बरसाई, भर्लाङगे र जिर्मले गरी पाँच वटा जात उन्मोचन गरिएको हो ।

नार्कले खाद्यान्न, तरकारी, तेलहन, दलहन, फलफूललगायतका उन्नत जात अनुसन्धान गरी किसानलाई सिफारिस गर्दै आएको छ । उन्नत जातका बालीको उत्पादन पनि राम्रो हुने नार्कले जानकारी दिएको छ । नार्कले समय समयमा विभिन्न जातका बाली अनुसन्धान गरेर सिफारिस गर्दै आएको छ । उक्त जातहरु नेपाल राजपत्रमा प्रकाशन भएसँगै प्रयोग गर्न पाइने छ ।